प्रत्यक्षतर्फ १९ स्थानमा रास्वपाको जित, कांग्रेसले चार तथा एमाले र नेकपाको एक-एक क्षेत्रमा विजयी
काठमाडौं : प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार नतिजा निकाल्दै देशव्यापी रूपमा ठूलो अग्रता कायम गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार हालसम्म घोषित २५ स्थानको अन्तिम नतिजा मध्ये रास्वपाले एक्लै १९ स्थानमा जित हात पारेको छ।
परम्परागत ठूला दलहरूलाई निकै पछाडि छाडेको रास्वपाले मतगणना भइरहेका अन्य १६१ क्षेत्रमध्ये ९८ स्थानमा आफ्नो अग्रता कायम राखेको छ।
काठमाडौंमा रास्वपाको वर्चस्व, रवि लामिछाने फराकिलो अन्तरले विजयी
प्राप्त विवरण अनुसार रास्वपाले काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रदेशमा जित निकालेको छ।
काठमाडौंका १० मध्ये ८ वटा निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्विप गरेको छ। काठमाडौं क्षेत्र नं १ मा रन्जु न्यौपाने, ३ मा राजु नाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट विजयी भएका छन्।
त्यसैगरी, पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ को भारी मतसहित विजयी भएका छन्।
रास्वपाले कोशी प्रदेशको मोरङ-४ र ६, मधेश प्रदेशको धनुषा-३ र महोत्तरी-१, गण्डकीको कास्की-२ र ३ सँगै स्याङ्जा-१, तथा लुम्बिनी प्रदेशको रुपन्देही-४ र बाँकेको क्षेत्र नम्बर १ र ३ मा समेत फराकिलो मतान्तरले जित हासिल गरेको छ।
कांग्रेस ४ स्थानमा विजयी, ठूला कम्युनिस्ट पार्टी १-१ सिटमा सीमित
हालसम्मको नतिजा अनुसार नेपाली कांग्रेस ४ स्थानमा विजयी भएको छ भने ११ स्थानमा अग्रता लिइरहेको छ।
कांग्रेसका तर्फबाट कोशी प्रदेशको तेह्रथुम-१ मा सन्तोष सुब्बा (११,५६१ मत), गण्डकीको मनाङ-१ मा टेकबहादुर गुरुङ (२,४१५ मत) र मुस्ताङ-१ मा योगेश गौचन थकाली (३,३०७ मत) विजयी भएका छन्।
त्यस्तै कर्णाली प्रदेशको दैलेख-१ बाट कांग्रेसकी बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन्।
उता, देशका प्रमुख दुई कम्युनिस्ट पार्टीहरू एमाले र नेपाली कम्युनिस्ट पार्टीको नतिजा भने हालसम्म कमजोर देखिएको छ । दुवै दलले १-१ स्थानमा मात्र जित निकालेका छन् भने ११-११ स्थानमा अग्रता लिइरहेका छन्।
एमालेका तर्फबाट लुम्बिनी प्रदेशको बाँके निर्वाचन क्षेत्र नम्बर २ मा मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, नेकपाबाट रुकुम (पूर्वी भाग) निर्वाचन क्षेत्र नम्बर १ बाट पुष्पकमल दाहाल 'प्रचण्ड' १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका छन्।
अन्य दलतर्फ श्रम संस्कृति पार्टीले हालसम्म जित निकाल्न नसके पनि ३ स्थानमा आफ्नो अग्रता कायम राखेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। देशभर मतगणना कार्य निरन्तर चलिरहेको छ ।
फागुन २३, २०८२ शनिबार ०८:१०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।