बाँके-२ बाट एमालेका मोहम्मद इश्तियाक राई निर्वाचित

बाँके-२ बाट एमालेका मोहम्मद इश्तियाक राई निर्वाचित

बुटवल : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा मोहम्मद इश्तियाक राई निर्वाचित भएका छन्। एमालेका उम्मेदवार राईले २४ हजार ६२६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गरे। ६ हजार ४५ मतान्तरले विजयी भएका राईले मतगणनाको सुरुदेखि नै अग्रता कायम राखेका थिए।

उनी मनोनयन दर्ताको अघिल्लो दिन माघ ५ गते जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै एमालेमा प्रवेश गरेका थिए । इश्तियाक राईको राजनीतिक यात्रा भने लामो र उतारचढावपूर्ण रहँदै आएको छ।

उनले वि.सं. २०५३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट औपचारिक राजनीतिक यात्रा सुरू गरेका थिए। २०६४ सालको मधेस आन्दोलनपछि भने उनी मधेसी जनअधिकार फोरममा आबद्ध भए।

सोही दलको उम्मेदवारका रूपमा उनले बाँके-२ बाट २०६४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जितेका थिए। पहिलोपटक निर्वाचन जितेपछि उनी श्रम तथा यातायात मन्त्रीसमेत बनेका थिए। तर, २०७० र २०७९ सालको निर्वाचनमा भने उनले पराजय बेहोरेका थिए।

राजनीतिक यात्रामा पटक-पटक दल परिवर्तन गरेका राईले यसपटक एमालेबाट उम्मेदवार बनेर जित हात पार्दै पार्टीलाई राहत दिलाएका छन्। रास्वपाको लहरबीच निकालिएको यो जितले एमालेका लागि बाँके-२ विशेष महत्त्वको निर्वाचन क्षेत्र बनेको छ।

फागुन २३, २०८२ शनिबार ०७:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।