पराजित भएपछि कुलमानको प्रतिक्रिया, 'अझ जिम्मेवार भएर देशको सेवा गर्छु'
काठमाडौं : उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर ३ बाट पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई दिँदै आफूलाई मत दिने मतदाताहरूलाई आभार व्यक्त गरे।
उनले भने, “चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धिसहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु। मेरा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई सहयोगका लागि धन्यवाद दिन्छु। सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ।”
उनले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउने विश्वास पनि लिए।
फागुन २२, २०८२ शुक्रबार २२:२४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।