सिरहाका चारै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
सिरहा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुआती अग्रता लिएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा एक हजार २१५ मतगणना हुँदा रास्वपाका उम्मेदवार बब्लु गुप्ताले ७७९ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईका अनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका रामसुन्दर चौधरीले २०२ मत र नेकपा एमालेका रामशङ्कर यादवले १२७ मत प्राप्त गरेका छन्।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा दुई हजार ३१६ मतगणना हुँदा रास्वपाका उम्मेदवार शिवशङ्कर यादवले एक हजार ४७१ मत प्राप्त गर्दै अग्रता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले ३०७ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले ११८ मत प्राप्त गरेका छन्।
ढिलागरी मतगणना सुरु भएको निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार डा शम्भु यादवले एक हजार १७७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका विश्वनाथ साहले ८३३, एमालेका लीलानाथ श्रेष्ठले ७७८, नेपाली कांग्रेसका डा सुभाषचन्द्र यादवले ४३६ तथा जनता समाजवादी पार्टीका अशेश्वर यादवले ६८६ मत प्राप्त गरेका छन्।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ४ मा बेलुका ४ बजेसम्मको विवरणअनुसार आठ हजार ९७० मतगणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले चार हजार ३५५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशङ्कर नायकले एक हजार १४० मतसहित पछ्याइरहेका छन्। यहाँ जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोले ८८९, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादवले ७१० तथा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले ५४१ मत प्राप्त गरेका छन्।
फागुन २२, २०८२ शुक्रबार १८:१२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।