झापा-५ अपडेट : बालेनभन्दा ओली ८ हजार मतले पछि
झापा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले शानदार अग्रता लिएका छन्।
प्राप्त पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १५ हजार ७४० मत गणना हुँदा रास्वपाका शाहले १० हजार ४६६ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले २ हजार २०५ मत मात्र प्राप्त गरेका छन्। शाह ओलीभन्दा ८ हजार २६१ मतले अगाडि छन्।
त्यस्तै, तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ रहेका छन्। उनले १ हजार ३५७ मत प्राप्त गरेका छन्।
यता, नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३१८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार मधुरा विमरिया २९७ मतसहित पाँचौं स्थानमा सीमित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लक्ष्मी प्रसाद संग्रौलाले २२२ मत पाएका छन्।
विवरणअनुसार हालसम्म गनिएको १५ हजार ७४० मतमध्ये १५ हजार ७० मत सदर भएको छ भने ६७० मत बदर भएको छ। यस क्षेत्रको मतगणना अझै जारी छ।
फागुन २२, २०८२ शुक्रबार १७:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।