काठमाडौं-१ मा हारपछि रवीन्द्र मिश्रले रञ्जु दर्शनालाई दिए बधाई, भने- ‘तपाईंप्रतिको आशा र इमान सधैं कायम रहोस्’
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) भारी मतान्तरले विजयी भएपछि उनका मुख्य प्रतिस्पर्धीमध्येका एक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उनलाई बधाई दिएका छन्।
तेस्रो स्थानमा खुम्चिएका मिश्रले रञ्जुको दशक पुरानो तस्बिर सेयर गर्दै सुशासन र रूपान्तरणप्रतिको इमान सधैं कायम राख्न शुभकामना दिएका हुन्।
नतिजा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले रञ्जु सडक आन्दोलनमा सहभागी हुँदाको पुरानो तस्बिर पोस्ट गर्दै विगतको स्मरण गरेका छन्।
उनले लेखेका छन्, ‘संभवतः मैले १०/११ वर्षअघि तपाईंको यही फोटो भएको लेख शेयर गर्दै, तपाईंको प्रशंसा र तपाईंमति आशा व्यक्त गरेको थिएँ। आज पुनः त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु।’
मिश्रले रञ्जुको जितलाई स्वीकार्दै आगामी कार्यकालका लागि सचेत समेत गराएका छन्। उनले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस् !’
९ हजार बढीको फराकिलो मतान्तर
काठमाडौं-१ को अन्तिम मतपरिणाम अनुसार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित शानदार रूपमा विजयी भएकी छन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीलाई ९ हजार ९१ मतको विशाल अन्तरले पछाडि पारिन्। कांग्रेसका थापाले ६ हजार ३६४ मत प्राप्त गरे।
विवेकशील साझा पार्टी हुँदै राप्रपाबाट उम्मेदवार बनेका रवीन्द्र मिश्र यसपटक ३ हजार ९७२ मतमा सीमित हुँदै तेस्रो स्थानमा रहे।
अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका मिश्रलाई यसपटक रास्वपाको लहरले भारी मतान्तरले पछाडि पारेको हो।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीकी मेनुका भण्डारीले ३ हजार ४०५ र एमालेका मोहनराज रेग्मीले १ हजार ६१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फागुन २२, २०८२ शुक्रबार १२:२०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।