रुपन्देही-२ अपडेट : सुलभ खरेलको कटाए १० हजार मत, विष्णु पौडेल ८ हजार मतले पछाडि

रुपन्देही-२ अपडेट : सुलभ खरेलको कटाए १० हजार मत, विष्णु पौडेल ८ हजार मतले पछाडि

रुपन्देही : रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार खरेलले १० हजार मत कटाएका छन् भने एमाले उपाध्यक्ष विष्णु पौडेल निकै पछाडि परेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म १५ हजार ४१३ मत गणना भइसकेको छ। जसमा रास्वपाका उम्मेदवार खरेलले एक्लै १० हजार ५१९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले २ हजार १९३ मत मात्र प्राप्त गरेका छन्। खरेलले पौडेललाई ८ हजार ३२६ मतको विशाल अन्तरले पछाडि पारेका हुन्।

प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार चुन्न पौडेलको अवस्था पनि कमजोर देखिएको छ। उनले हालसम्म १ हजार २०४ मत मात्र प्राप्त गरेका छन्। गणना भएको कुल मतमध्ये ४२७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

सुरुवातदेखि नै अग्रता लिइरहेका खरेलले मतगणना अघि बढ्दै जाँदा मतान्तरलाई झन् बढाउँदै लगेपछि नतिजा एकतर्फी बन्ने संकेत देखिएको छ।

फागुन २२, २०८२ शुक्रबार ११:१२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।