रुपन्देही-२ मा सुलभ खरेलको शानदार अग्रता, विष्णु पौडेल ५ हजार बढी मतले पछाडि

रुपन्देही-२ मा सुलभ खरेलको शानदार अग्रता, विष्णु पौडेल ५ हजार बढी मतले पछाडि

रुपन्देही : रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाममा अनपेक्षित र रोचक नतिजा देखा परेको छ।

पछिल्लो मतगणना अनुसार यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले शानदार र फराकिलो अग्रता बनाएका छन् भने एमालेका शीर्ष नेता विष्णु पौडेल निकै पछाडि परेका छन्।

हालसम्म यस क्षेत्रमा १० हजार ६२९ मत गणना भइसकेको छ। प्राप्त नतिजा अनुसार रास्वपाका सुलभ खरेलले एक्लै ७ हजार १५१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्।

यस क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र मान्दै आएका एमालेका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने जम्मा १ हजार ६५८ मत मात्र प्राप्त गरेका छन्। खरेलले एमालेका पौडेललाई ५ हजार ४९३ मतको विशाल अन्तरले पछाडि पारेका छन्।

त्यस्तै, अन्य दलका उम्मेदवारहरूको प्रदर्शन पनि निकै कमजोर देखिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेलले ७३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदिप पाण्डेले जम्मा ३१५ मत प्राप्त गरेका छन्।

१० हजार बढी मत गन्दा खसेको कुल मतको अत्यधिक ठूलो हिस्सा रास्वपाका खरेलको पक्षमा गएको देखिन्छ।

एमालेको बलियो गढ मानिएको र हेभिवेट नेता प्रतिस्पर्धामा रहेको रुपन्देही-२ मा देखिएको यो जनलहरले परम्परागत दलहरूलाई ठूलो झड्का दिएको छ। यस क्षेत्रमा मतगणना कार्य निरन्तर चलिरहेको छ।

फागुन २२, २०८२ शुक्रबार ०८:५२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।