हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, दुर्गमका मतपेटिका संकलनमा मौसम बाधक बन्न सक्ने
काठमाडौं : देशभर मतदान सम्पन्न भएको भोलिपल्ट विभिन्न स्थानमा मतगणनाको तयारी भइरहँदा कतिपय हिमाली तथा दुर्गम जिल्लाहरूबाट मतपेटिका अझै सदरमुकामसम्म आइपुगेका छैनन्।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ, जसले बाँकी रहेका मतपेटिका ढुवानीमा थप चुनौती सिर्जना गर्न सक्ने देखिएको छ।
भौगोलिक विकटताका कारण कतिपय हिमाली र पहाडी जिल्लाका मतदान केन्द्रबाट पैदल मार्ग हुँदै वा हेलिकप्टरमार्फत मतपेटिका संकलन गर्नुपर्ने बाध्यता छ। तर, आजको मौसमले हेलिकप्टर उडान र पैदल यात्रा दुवैलाई प्रभावित गर्न सक्ने सम्भावना बढेको छ।
मतपेटिका संकलनमा भइरहेको ढिलाइ र सम्भावित खराब मौसमका कारण ती क्षेत्रमा मतगणना सुरु हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले २०८२ फागुन २२ गते शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार, हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यस प्रणालीको प्रभावले आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
उता, तराईका भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागे पनि दिउँसो भने मौसम मुख्यतया सफा रहनेछ।
पहाड र हिमालमा बादल लाग्ने र हिमपातसमेत हुने पूर्वानुमानले निर्वाचन आयोग र सुरक्षा निकायलाई दुर्गम क्षेत्रबाट सुरक्षित रूपमा मतपेटिका ओसार्न मौसमको विशेष ख्याल गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
फागुन २२, २०८२ शुक्रबार ०८:१२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।