झापा चुनावी अपडेट : क्षेत्र नम्बर २ र ५ मा रास्वपाको फराकिलो अग्रता, बालेनलाई १ हजार ९३ मतको अग्रता
झापा : झापा जिल्लाको प्रारम्भिक चुनावी नतिजा सार्वजनिक हुन थालेको छ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार झापाको निर्वाचन क्षेत्र नम्बर २ र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले फराकिलो अग्रता लिएका छन्। एमालेका शीर्ष नेताहरू भने प्रारम्भिक चरणमा निकै पछाडि परेका छन्।
झापा-२: इन्दिरा राना मगरको शानदार अग्रता
झापा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगरले ठूलो मतान्तरका साथ अग्रता बनाएकी छन्।
पछिल्लो तथ्यांक अनुसार उनले १,५९९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देव राज घिमिरेले मात्र २७५ मत पाएका छन्। राना मगर एमालेका घिमिरेभन्दा १,३२४ मतले अगाडि छन्।
यस क्षेत्रमा अन्य दलका उम्मेदवारहरूको प्रदर्शन भने कमजोर देखिएको छ।
श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले १२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भद्र प्रसाद नेपालले १२६, र नेपाली कांग्रेसकी सरिता प्रसाईले १०९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीकी धर्माशिला चापागाईले जम्मा १२ मत पाएकी छन्।
झापा-५: वालेन्द्र शाह अगाडि, केपी शर्मा ओली पछाडि
सर्वाधिक चासोको रूपमा हेरिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवार वालेन्द्र शाहले अग्रता कायम गरेका छन्।
उनले १,४७८ मतसहित अग्रता लिइरहँदा नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओली ३८५ मतका साथ दोस्रो स्थानमा छन्। शाहले ओलीलाई १,०९३ मतको फराकिलो अन्तरले पछाडि पारेका छन्।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ९०, राप्रपाका लक्ष्मी प्रसाद संग्रौलाले ८७ र नेपाली काँग्रेसकी मंधरा चिमरियाले ७८ मत ल्याएका छन्। प्रमुख दल नेपाली काँग्रेस र राप्रपाका उम्मेदवारहरू दुवै क्षेत्रमा निकै पछाडि देखिएका छन्।
३ वटा क्षेत्रमा मतगणना हुन बाँकी
जिल्लाका ५ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ र ५ को मात्र तथ्यांक प्राप्त भएको छ। बाँकी निर्वाचन क्षेत्रहरू झापा-१, झापा-३ र झापा-४ मा भने अहिलेसम्म मतगणना सुरु भएको छैन।
फागुन २२, २०८२ शुक्रबार ०७:५३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।