झापा-५ र चितवन-२मा कांग्रेस र एमालेबीच तालमेल भएको एमाले चितवनका उम्मेदवारको दाबी
चितवन -२ का एमाले उम्मेदवार अस्मिन घिमिरेले नेपाली काँग्रेस र एमालेबीच झापा-५ र चितवन २ मा तालमेल भएको दाबी गरे। उनले झापामा कांग्रेसले एमाले उम्मेदवार केपी ओलीलाई सघाउने र चितवनमा एमालेले कांग्रेस उम्मेदवार मिना खरेललाई सघाउने निर्णय भएको दाबी गरे।
विभिन्न मिडियासँगको कुराकानीमा उनले आफू एमाले उम्मेदवार भए पनि पार्टी अध्यक्षलाई सघाउन चितवन २ मा कांग्रेस उम्मेदवारका लागि भोट मागेको दाबी गरे।
‘जीवनमा मलाई हुर्काउन, बढाउन, पढाउन मेरा बुवा आमाले जति दुःख गर्नुभयो। त्यस्तै गरी मलाई राजनीतिमा लागेर यत्तिको बनाउनुमा मेरो दल एमालेको योगदान छ,’ घिमिरेले सुनौलो नेपालसँग भने 'पार्टीले उम्मेदवार बनायो, म बनेँ। पार्टी अध्यक्षज्यूलाई सघाउन भनियो, सघाएँ।’
पार्टीको निर्णय अनुसार सो निर्णय मतदान अगाडि गोप्य राखिएको उनको दाबी छ। तर चितवन २ मा आफूहरूले इमानदारिताका साथ कांग्रेसका लागि मत मागेको र हालेको दाबी गरे।
झापा-५ मा ओलीको प्रतिस्पर्धामा रास्वपामा वरिष्ठ नेता बालेन्द्र शाह र चितवन २ मा मिना खरेलसँग रास्वपा सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन्।
फागुन २२, २०८२ शुक्रबार ००:३५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।