चितवनमा खस्यो ६४ प्रतिशत मत, मतदानमा महिलाको सहभागिता बढी

चितवनमा खस्यो ६४ प्रतिशत मत, मतदानमा महिलाको सहभागिता बढी

चितवन : बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ। 

जिल्लाका तीन निर्वाचन क्षेत्रमा बिहीबार बिहानदेखि भएको मत दानका क्रममा दुई लाख ८३ हजार ४२८ मत खसेको हो। जसमध्ये ६७ दशमलव २५ प्रतिशत महिला र ६० दशमलव ८९ प्रतिशत पुरुष रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

बिहीबार राति १० बजे सम्ममा तीन वटै निर्वाचन क्षेत्रका मतपेटिका गणना स्थलमा आइपुग्ने छ। निर्वाचन आयोगका तर्फबाट गणनाका लागि सम्पूर्ण तयारी भएको भन्दै उनले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेर गणना थाल्ने बताए।

चितवन क्षेत्र नम्बर १ को भुवानी शङ्कर कलेज खैरहनी, क्षेत्र नम्बर २ को उद्योग सङ्घको प्रदर्शनी केन्द्र भरतपुर र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा गणना हुने छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए। जसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी थिए।

जिल्लाका १६२ स्थल र ४९४ केन्द्रबाट मतदाताले मतदान गरेका हुन्। जिल्लामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ उम्मेदवार रहेका छन्। मतदान सकिएसँगै मग गणना स्थलमा मतपेटिका ल्याउने क्रम सुरु भएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए। सो समयमा ६७ दशमलव १४ प्रतिशत मत खसेको थियो।

फागुन २१, २०८२ बिहीबार २०:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।