रुकुमपूर्वमा तीन केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइयो, गणना शुक्रबार मात्रै

रुकुमपूर्वमा तीन केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइयो, गणना शुक्रबार मात्रै
फाइल तस्बिर

रुकुमपूर्व : रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ।

सडक सञ्जालको पहुँचमा नरहेका र हिँडेर एक दिन लाग्ने यी तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको हो।

सिस्ने गाउँपालिका-१ पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका- २ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको हो।

अन्य मतदान केन्द्रका मतपेटिकाहरू ल्याउने क्रम जारी छ। मध्यरातिसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिनेछ। ५६ मतदान केन्द्र रहेको रुकुमपूर्वमा ३४ हजार ७७२ मतदाता थिए।

सबै ठाउँमा टेलिफोन सम्पर्क नभएकाले जिल्लामा खसेको कुल खसेको मतको परिणाम भने आइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

फागुन २१, २०८२ बिहीबार २०:१७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।