बस्ती स्थानान्तरणको माग गर्दै दाङका दुई मतदान केन्द्रमा मतदान बहिष्कार

बस्ती स्थानान्तरणको माग गर्दै दाङका दुई मतदान केन्द्रमा मतदान बहिष्कार

बुटवल : प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशभर उत्साहजनक रूपमा मतदान भइरहँदा दाङका दुई वटा मतदान केन्द्रमा भने अहिलेसम्म एउटा पनि मत खसेको छैन।

बाँके राष्ट्रिय निकुञ्जबाट प्रभावित स्थानीय बासिन्दाहरूले बस्ती स्थानान्तरणको माग राख्दै मतदान बहिष्कार गरेपछि ती केन्द्रहरू सुनसान बनेका हुन्।

दाङको बबई गाउँपालिकाअन्तर्गत पर्ने वडा नम्बर ७ स्थित देउती माध्यमिक विद्यालय (मलई) मतदान केन्द्र र वडा नम्बर १ स्थित जनता आधारभूत विद्यालय (जिला) मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरूको उपस्थिति शून्य रहेको छ।

मतदान गराउनका लागि निर्वाचन कर्मचारी र सुरक्षाकर्मीहरू बिहानैदेखि सम्पूर्ण तयारीका साथ बसेका छन्। तर, भोट हाल्न एकजना पनि मतदाता नआएपछि मतदान केन्द्रहरू पूर्ण रूपमा सुनसान देखिएका छन्।

किन भयो मतदान बहिष्कार?
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यी गाउँका बासिन्दाहरू लामो समयदेखि जङ्गली जनावरको आतङ्क र निकुञ्जको कडा नियमबाट पीडित छन्।

जङ्गली जनावरले बालीनाली नष्ट गरिदिने र ज्यानकै जोखिम हुने गरेका कारण उनीहरूले सुरक्षित स्थानमा आफ्नो बस्ती सारिदिनुपर्ने (बस्ती स्थानान्तरण गर्नुपर्ने) माग सरकारसँग राख्दै आएका थिए।

तर, पटक-पटक माग गर्दा पनि राज्यले आफूहरूको समस्या समाधानमा चासो नदेखाएको भन्दै आक्रोशित स्थानीयले यसपटक विरोधस्वरूप मतदानमा भाग नलिने सामूहिक निर्णय गरेका हुन्।

मतदाताहरू नै नआएपछि ती दुवै केन्द्रमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ।

फागुन २१, २०८२ बिहीबार ११:५५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।