रौतहटको चन्द्रपुरमा भेटिएको शंकास्पद वस्तु ‘होक्स’ : कार्टुनभित्र ढुङ्गा र माटो फेला

रौतहटको चन्द्रपुरमा भेटिएको शंकास्पद वस्तु ‘होक्स’ : कार्टुनभित्र ढुङ्गा र माटो फेला

काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिका-५, राजपेडामा सोमबार बिहान फेला परेको शंकास्पद वस्तु बम नभई सर्वसाधारणलाई तर्साउन राखिएको नक्कली वस्तु (होक्स) भएको पुष्टि भएको छ।

सोमबार बिहान सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीय बासिन्दा त्रसित हुँदै प्रहरीलाई खबर गरेका थिए। सूचनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षित बनाएको थियो।

त्यसलगत्तै उक्त वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको नारायण दल गणबाट बम डिस्पोजल टोली खटिएको थियो। तर, सेनाको टोलीले जाँच गर्दा उक्त वस्तु बम नभएको पाइएको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले उक्त वस्तु बम नभएको जानकारी दिए।

‘त्यो बम नै रहेनछ। नेपाली सेनाको टोलीले जाँच गर्दा कार्टुनभित्र ढुङ्गा र माटो मात्र फेला पर्यो,’ सहायक प्रजिअ यादवले उकेरासँग भने, ‘ढुङ्गा र माटो थुपारेर राखेकाले बाहिरबाट हेर्दा शंकास्पद वस्तुजस्तो देखिएको रहेछ। अहिले जिल्लाको शान्ति सुरक्षाको स्थिति पूर्ण रूपमा सामान्य छ।’

यसअघि, रौतहटकै राजपुर नगरपालिका-६ मा पनि सोमबार नै अर्को शंकास्पद वस्तु फेला परेको थियो, जसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।

फागुन १९, २०८२ मंगलबार ०८:२९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।