आजको मौसम : कोशीका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशीका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम सफा रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, तराईका केही स्थानमा बिहानीपख हुस्सु लाग्ने महाशाखाले जनाएको छ।

यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा तराईका केही भूभागमा तुवाँलो लाग्ने सम्भावना छ।

कोशी प्रदेशका पहाडी भेगमा हुने हल्का वर्षा तथा तराईमा लाग्ने हुस्सु र तुवाँलोका कारण दैनिक जनजीवनका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

फागुन १९, २०८२ मंगलबार ०७:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।