प्रतिनिधि सभा निर्वाचनका लागि मध्यरातदेखि मौन अवधि सुरू, के-के गर्न पाइँदैन?

प्रतिनिधि सभा निर्वाचनका लागि मध्यरातदेखि मौन अवधि सुरू, के-के गर्न पाइँदैन?

काठमाडौं : बिहीबार हुने प्रतिनिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरू भएको छ।

निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई दिएको प्रचारप्रसारको समय सोमबार मध्यरात १२ बजेदेखि सकिएसँगै मौन अवधि सुरू भएको हो।

मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सरोकारवालाले यी आचरण पालना गर्नुपर्ने व्यवस्था छ।

प्रचारप्रसारमा रोक : भाषण, भेला, छलफल, समीक्षा र निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका कुनै पनि गतिविधि गर्न पाइने छैन ।
सामाजिक सञ्जालको प्रयोगमा बन्देज : एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम र सामाजिक सञ्जालमार्फत मत माग्न वा पोस्ट गर्न पाइने छैन ।
सञ्चारमाध्यममा रोक : उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्न पाइने छैन ।
प्रचार सामग्री हटाउनुपर्ने :​​​​​​​ मौन अवधि सुरु हुनुअगावै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री अनिवार्य रूपमा हटाएको हुनुपर्नेछ।

आर्थिक कारोबार भए ६ वर्ष प्रतिबन्ध
मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक कारोबार गरिएको भेटिएमा कडा कारबाही हुने आयोगले जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यस्तो गतिविधिमा संलग्न उम्मेदवारको उम्मेदवारी खारेज मात्र नभई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कानुनी व्यवस्था छ।

निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाइने आयोगले स्पष्ट पारेको छ।

किन महत्त्वपूर्ण छ मौन अवधि?
निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन प्राप्त भइरहेको हुन्छ।

मौन अवधिले मतदातालाई ती सबै कुराको मन्थन गर्दै तनावमुक्त (फ्रेस) र शान्त मनले योग्य उम्मेदवारलाई मतदान गर्ने अवसर प्रदान गर्छ।

त्यस्तै, निर्वाचन व्यवस्थापनका दृष्टिकोणले पनि यो अवधि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

यस समयमा निर्वाचन गराउने जनशक्ति र सुरक्षा निकायले मतदान केन्द्र निर्माण गर्ने, मतदाता लाइनको व्यवस्थापन गर्ने र सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै शान्तिपूर्ण निर्वाचनको तयारी गर्छन्।

विश्वका धेरैजसो लोकतान्त्रिक मुलुकमा निर्वाचनअघि २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने प्रचलन रहेको छ।

फागुन १९, २०८२ मंगलबार ०७:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।