इरानका एक हजार बढी स्थानमा हवाई हमला, दुई हजार बम प्रहार

इरानका एक हजार बढी स्थानमा हवाई हमला, दुई हजार बम प्रहार

एजेन्सी : इरानमाथि इजरायल-अमेरिकाले आक्रमण सुरु गरेको सोमबार तेस्रो दिनमा पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल-जजीराका अनुसार, यस अवधिमा इरानका एक हजारभन्दा बढी स्थानमा बमबारी गरिएको छ। इजरायली सेनाले युद्धको सुरुवाती ३० घण्टामा दुई हजारभन्दा बढी बम प्रहार गरिएको जनाएको छ।

यसक्रममा लडाकु विमानहरूले सात सयभन्दा बढी उडान भरेका छन्। इरानले जवाफी कारबाही स्वरूप इजरायलसहित ९ वटा देशमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा आक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी दिनमा तेहरानमाथिको आक्रमणलाई थप तीव्र पारिने बताएका छन्।

यसैबीच, आइतबार इरानले गरेको आक्रमणमा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्युको बदला नलिएसम्म इरानमाथिको कारबाही जारी रहने उल्लेख गरेका छन्।

नयाँ नेतृत्व र राजनीतिक अवस्था

शनिबारदेखि सुरु भएको यस संघर्षको पहिलो दिन इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भयो। यी आक्रमणहरूमा इरानका ४८ जना उच्च अधिकारीहरू मारिएको समाचार सार्वजनिक भएका छन्। इरानमा तत्कालको सत्ता सञ्चालनका लागि तीन सदस्यीय अस्थायी समिति गठन गरिएको छ। जसमा राष्ट्रपति मसूद पजश्कियान, न्यायपालिका प्रमुख मोहसेनी एजेही र धर्मगुरु अलीरजा अराफी रहेका छन्।

मानवीय क्षतिको विवरण

इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित १० वटा प्रमुख सहरहरूलाई लक्षित गरेका छन्। हालसम्म प्राप्त विवरण अनुसार, इरानमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन्। एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको जानकारी प्राप्त भएको छ।

फागुन १८, २०८२ सोमबार १०:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।