आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेजीदेखि र ६ वर्षको प्रतिबन्ध
काठमाडाैं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाइएमा कडा कारबाही हुने चेतावनी दिएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मौन अवधिमा कुनै उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत आर्थिक पक्षसँग जोडिने क्रियाकलाप गरेमा उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको जानकारी दिए।
उनले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भए पनि उनीहरुको उम्मेदवारी खारेज हुने पनि स्पष्ट पारे।
उनले भने, "यदि रकम लेनदेन भयो, रकम बोकेर हिँडियो, निर्वाचन सामग्री र रकमको झोला बोकेर गइयो भने त्यो बरामद भयो भने उहाँहरुले निर्वाचनमा विजयी भए पनि उहाँको उम्मेदवारी खारेज गर्छौं भनेको छौँ हामीले। र खारेजी मात्रै होइन, अर्को ६ वर्ष चुनिने प्रक्रियामा उहाँ सहभागी हुन पाउनु हुन्न।"
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि लागू हुँदैछ। यो अवधि मतदान सम्पन्न नहुञ्जेलसम्म कायम रहन्छ।
मौन अवधिमा मत माग्न, भेला र छलफल गर्न पाइदैन। विशेषगरी उम्मेदवार र राजनीतिक दलले मौन अवधिको पूर्ण पालना गर्नुपर्नेमा निर्वाचन आयोगले जोड दिएको छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनु अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, छोटा सन्देश (एसएमएस), सामाजिक सञ्जालका साथै भाइबरलगायत विद्युतीयमाध्यमद्वारा मत माग्न प्रचारप्रसार गर्न पाइदैन।
उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन। आगामी बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्।
पहिलो हुने निर्वाचित हुने निर्वाचनमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ।
फागुन १७, २०८२ आइतबार १७:३४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।