भारतकाे नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा भीषण विस्फोट, १७ जनाको मृत्यु
एजेन्सी : भारतीय राज्य महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा भएको विस्फोटमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
आइतबार भएकाे उक्त शक्तिशाली विस्फोटमा परी अन्य १८ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरूकाे नागपुरको ओरेन्ज सिटी अस्पतालमा उपचार भइरहेकाे छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटना ‘गहिरो दुःखदायी’ भएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नविसले पनि एक्समा घटनालाई ‘अत्यन्त दुर्भाग्यपूर्ण र दुःखद्’ भनेका छन्।
विस्फोट नागपुर ग्रामीण क्षेत्रको राउलगाउँस्थित एसबीएल इनर्जी लिमिटेड नामक औद्योगिक तथा खानी प्रयोजनका विस्फोटक उत्पादन गर्ने कारखानामा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतको महाराष्ट्र राज्य सरकारका अनुसार विस्फोटपछि तत्काल उद्धार तथा राहत कार्य तीव्र बनाइएको थियो। घाइतेहरूलाई उपचारका लागि नागपुरस्थित अस्पतालमा भर्ना गरिएको बताइएकाे छ।
महाराष्ट्र सरकारले विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई जनही पाँच लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि आसपासका क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। सुरक्षाका दृष्टिले उक्त क्षेत्रलाई घेराबन्दी गरेर थप जोखिम नियन्त्रणको प्रयास भइरहेको छ।
गत वर्ष पनि पश्चिमी भारतमा आतसबाजी कारखानामा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको थियो। यसअघि, शनिबार दक्षिणपूर्वी भारतीय राज्य आन्ध्र प्रदेशको पटाखा कारखानामा भएको विस्फोटमा २१ जनाको ज्यान गएको थियो।
फागुन १७, २०८२ आइतबार १७:०५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।