प्रियंकाको फेरिएको अवतार, शहरिया चमकधमक छोडेर गाउँले संघर्षमा

प्रियंकाको फेरिएको अवतार, शहरिया चमकधमक छोडेर गाउँले संघर्षमा

काठमाडौं : शहरिया परिवेशमा हुर्किएकी अभिनेत्री प्रियंका कार्की यस पटक ग्रामीण परिवेशको भूमिकामा प्रस्तुत भएकी छन्। आफ्नै निर्माण कम्पनी ‘आयंका फिल्मस्’को ब्यानरमा निर्माण गरेको सर्ट फिल्म ‘टाख’मा उनी गाउँको जीवनशैलीमा देखिएकी हुन्।

लामो समयअघि फिल्म निर्माणको घोषणा गरेकी कार्कीले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत उक्त सर्ट फिल्म सार्वजनिक गरेकी छन्। १४ मिनेट ४४ सेकेण्ड लामो यस फिल्ममा पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई समेटिएको छ। फिल्ममा उनले पश्चिमेली लवज प्रयोग गरेकी छन् भने विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’को यथार्थलाई समेत देखाइएको छ।

फिल्मको कथावस्तु वैदेशिक रोजगारीमा गएका श्रीमानसँग सम्पर्क विच्छेद हुँदाको पीडा, साहुको ऋण तिर्नुपर्ने बाध्यता र एक दृष्टिविहीन आमाले ७ वर्षीय छोराको लालनपालनका लागि गर्ने संघर्षमा केन्द्रित छ। आधुनिक र शहरिया चरित्रमा देखिने कार्कीले सर्ट फिल्ममार्फत आफ्नो अभिनयको विविधता प्रस्तुत गर्ने प्रयास गरेकी छन्।

क्याप्सनमा लेखिएको छ, ‘यो एउटा युवती आमाको कथा हो, जसको मातृत्व भाग्यको कठोर यथार्थले चुनौतीमा पार्छ। जब बाढीले उग्र बनेको खोलाले उनको सात वर्षको छोरालाई बगाएर लैजान्छ, तब उनी गहिरो निराशाका बीच पनि आशाको सानो आधार समातेर बस्न बाध्य हुन्छिन्।’

सम्तेन भुटियाको निर्देशनमा निर्माण भएको यो सर्ट फिल्मलाई उनैले लेखेका हुन्। यसमा प्रियंकाका अलवा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी, रेणुनाथ योगीले अभिनय गरेका छन्। ‘टाख’लाई कार्की र आयुष्मान जोशीले लगानी गरेका छन्।  

फागुन १७, २०८२ आइतबार १६:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।