'धागोले बाटेको' को चर्चाले सुपुष्पालाई लाभ, फिल्मको व्यापारमा पनि उत्साह थप्ने आशा
काठमाडौं : नेपाली फिल्मी क्षेत्रमा यतिबेला फिल्म ‘राम नाम सत्य’मा समावेश 'धागोले बाटेको' बोलको गीतले निकै चर्चा पाइरहेको छ।
आगामी चैत २७ गतेबाट प्रदर्शन आउने ‘राम नाम सत्य’को यो गीतले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको हो। गीतमा अभिनेत्री सुपुष्पा भट्ट र अभिनेता बिराज भट्टको अभिनय देख्न सकिन्छ।
अभिनेत्री सुपुष्पाका लागि यो गीत र फिल्म विशेष मानिएको छ। आठ वर्षअघि फिल्म ‘रणवीर’बाट नेपाली फिल्मी क्षेत्रमा डेब्यु गरेकी सुपुष्पाले त्यसयता ‘चपली हाइट ३’, ‘छ माया छपक्कै’, र ‘पीताम्बर’ लगायत आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। आफ्नै ब्यानरमा निर्माण भएको फिल्म ‘रेशम फिलिली २’मा उनी मुख्य भूमिकामा नै देखेकी थिइन्।
विगतमा उनी अभिनीत केही फिल्मले व्यावसायिक सफलता प्राप्त गरे पनि सुपुष्पाले व्यक्तिगत रूपमा अपेक्षित चर्चा र लोकप्रियता पाउन सकेकी थिइनन्। धेरै फिल्ममा काम गरे पनि दर्शकमाझ उनको बलियो पहिचान स्थापित हुन बाँकी नै थियो। यद्यपि, ‘धागोले बाटेको’ गीतको सफलतासँगै अहिले सुपुष्पाप्रति दर्शकको चासो बढेको देखिन्छ। गीतबाट चुलिएको चर्चाले उनलाई कलाकारका रूपमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
अभिनय यात्रा थालेको झण्डै एक दशक पुग्न लागेपछि उनलाई दर्शकले बल्ल नोटिस गर्न थालेका छन्। देशमा चुनावी माहोल रहँदा राजनीतिक दलका प्रचार सामग्री र गीत-सङ्गीततर्फ रहेको ध्यान मोडेर आफूतिर तान्न ‘धागोले बाटेको’ सफल भयो। जसले फिल्मको व्यापारमा राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लामो अभिनय करियरमा अपेक्षित चर्चा बटुल्न नसकेकी सुपुष्पाको लागि गीतले दिएको चर्चा चैतबाट प्रदर्शनमा आउने ‘राम नाम सत्य’ले कहाँ पुर्याउला ? चासोको विषय बनेको छ।
फागुन १७, २०८२ आइतबार १६:०१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।