खामेनीको मृत्युपछि इरानी सेनाद्वारा बदला लिने चेतावनी

खामेनीको मृत्युपछि इरानी सेनाद्वारा बदला लिने चेतावनी

एजेन्सी : इरानको सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी)ले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणकारीहरूसँग बदला लिने चेतावनी दिएको छ।

इरानको फार्स न्युज एजेन्सीले सार्वजनिक गरेको आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र हामी उहाँको मृत्युमा गहिरो शोक मनाइरहेका छौं।’

विज्ञप्तिमा खामेनीको मृत्युलाई ‘शहादत’को संज्ञा दिँदै अगाडि भनिएको छ, ‘मानवताका सबैभन्दा क्रूर आतंकवादी र हत्याराहरूको हातबाट उहाँले प्राप्त गरेको शहादत नै यी महान् नेताको वैधानिकता र उहाँले गरेको निष्कपट सेवाको ठूलो प्रमाण हो।’

आईआरजीसीले अमेरिका र इजरायलतर्फ लक्षित गर्दै उनीहरूलाई नछाड्ने दृढता व्यक्त गरेको छ। ‘इरानी जनताको बदलाको हातले उनीहरूलाई त्यत्तिकै उम्कन दिने छैन’, विज्ञप्तिमा कडा शब्दमा भनिएको छ।

साथै, देश भित्र र बाहिरबाट हुने कुनै पनि प्रकारका षड्यन्त्रहरूको डटेर सामना गर्न आईआरजीसी सधैं तयार रहेको पनि उक्त विज्ञप्तिमा स्पष्ट पारिएको छ।

फागुन १७, २०८२ आइतबार ०८:१३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।