कुरान वाचनसहित सरकारी टिभीबाट खामेनीको मृत्युको घोषणा, इरानद्वारा ‘विद्रोह’को चेतावनी

कुरान वाचनसहित सरकारी टिभीबाट खामेनीको मृत्युको घोषणा, इरानद्वारा ‘विद्रोह’को चेतावनी

एजेन्सी : इरानको सरकारी टेलिभिजनमा कालो ब्यानर राखिएको छ र पृष्ठभूमिमा निरन्तर कुरान वाचन भइरहेको छ।

आँसु झार्दै टेलिभिजन प्रस्तोताले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्ति पढेसँगै इरानका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु आधिकारिक रूपमा पुष्टि भएको छ।

अमेरिका र इजरायलको संयुक्त भीषण आक्रमणमा मारिएका खामेनीको ‘शहादत’लाई इरानले उत्पीडकहरूविरुद्ध ‘विद्रोहको सुरुवात’ हुने चेतावनी दिएको छ।

इरानको सरकारी न्युज च्यानलले स्क्रिनको माथिल्लो बायाँ कुनामा कालो ब्यानर राखेर खामेनीका तस्बिरहरूसँगै कुरानको धुन बजाइरहेको छ। टेलिभिजनमार्फत नै देशमा ४० दिनको राष्ट्रिय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरिएको छ।

सुरक्षा परिषद्को विज्ञप्तिमा खामेनीको मृत्युको सम्पूर्ण दोष अमेरिका र इजरायललाई लगाइएको छ। यद्यपि, उनको मृत्यु कुन अवस्थामा भयो र अब इरानको नयाँ सर्वोच्च नेता को हुनेछन् भन्नेबारे टिभी प्रसारण र विज्ञप्तिमा केही खुलाइएको छैन।

यो आक्रमणले इरानको उच्च नेतृत्वलाई गम्भीर धक्का दिएको छ। सीबीएस न्युज र फार्स न्युज एजेन्सीका अनुसार आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नाति र एकजना बुहारीको मृत्यु भएको छ।

यसका साथै, इरानका रक्षामन्त्री र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका शीर्ष कमाण्डरसहित करिब ४० जना उच्च पदस्थ सैन्य तथा सरकारी अधिकारीहरू पनि मारिएको गुप्तचर स्रोतलाई उद्धृत गर्दै बताइएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकमा इरानका राजदूत अमिर सइद इरावानीले यो आक्रमणलाई 'युद्ध अपराध र मानवता विरोधी अपराध' भनेका छन्। उनले दक्षिणी इरानको मिनाबस्थित आईआरजीसी क्याम्प नजिकै रहेको एउटा विद्यालयमा विष्फोट हुँदा १०० भन्दा बढी बालबालिका मारिएको दाबी गरेका छन्।

यसै बैठकमा चिनियाँ दूत फु कोङले सर्वसाधारण र बालबालिकाको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सैन्य कारबाही रोक्न र मध्यपूर्वमा शान्ति प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

एकातिर सरकारी टेलिभिजनमा कुरान वाचनसँगै सिङ्गो देश शोकमा डुबेको छ भने अर्कोतिर इरानबाहिर रहेका विपक्षीहरूले खुसीयाली मनाएका छन्। सन् १९७९ को क्रान्तिपछि अमेरिकामा निर्वासित इरानका अन्तिम शाह (राजा) का छोरा रेजा पहलवीले खामेनीको मृत्युको स्वागत गरेका छन्।

हजारौं इरानीको ज्यान लिने खामेनी अब इतिहास बनेको भन्दै उनले इस्लामिक रिपब्लिकको प्रभाव सकिएको दाबी गरेका छन्। उनले इरानी सेना र प्रहरीलाई नयाँ नेता नचुन्न र जनताको पक्षमा उभिन अपिल गर्दै यसलाई 'ठूलो राष्ट्रिय उत्सवको सुरुवात' भनेका छन्।

फागुन १७, २०८२ आइतबार ०७:५७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।