इरानमा मिसाइल आक्रमण गर्न अमेरिका पनि सामेल, ट्रम्पले भने- ‘इरानविरुद्ध ठूलो अपरेसन सुरू भयो’
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाले ‘ठूलो लडाकु कारबाही’ सुरू गरेको घोषणा गरेका छन्।
उनले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा आठ मिनेट लामो भिडियो सन्देश जारी गर्दै इरानमा इजरायलबाट भइरहेको आक्रमणमा अमेरिकाको संलग्नता रहेको पुष्टि गरेका हुन्।
भिडियो सन्देशमा ट्रम्पले इरानविरुद्ध ‘ठूलो’ अपरेसन सुरू गरिएको बताएका छन्।
उनले इरानमाथि आफ्नो परमाणु कार्यक्रम पुनः निर्माण गर्ने प्रयास गरेको र युरोपमा रहेका अमेरिकी मित्रराष्ट्रहरूलाई धम्की दिने खालका लामो दुरीका क्षेप्यास्त्र विकास गरिरहेको आरोप लगाएका छन्।
ट्रम्पले भनेका छन्, ‘यो दुष्ट कट्टरपन्थी तानाशाही लाई अमेरिकालाई धम्की दिनबाट रोक्नका लागि हामीले यो कदम चालेका हौँ।’
वार्तामा असन्तुष्टि र आक्रमणको पृष्ठभूमि
यसअघि जेनेभामा दुई देशबीच अप्रत्यक्ष वार्ता भएको थियो, जहाँ दुवै पक्षले सम्झौतामा पुग्न प्रगति भएको बताएका थिए।
तर, शुक्रबार मात्रै ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि आक्रमण गर्नेबारे ‘अन्तिम निर्णय’ भइनसकेको बताएका थिए।
यद्यपि, उनले परमाणु वार्ताका क्रममा इरानको अडानप्रति आफू ‘खुसी नभएको’ स्पष्ट पारेका थिए।
ट्रम्पले ‘हामीलाई जे चाहिन्छ त्यो दिन तयार नभएको’ भन्दै इरानसँग परमाणु हतियार हुन नहुने कुरामा जोड दिएका थिए। वासिङ्टनले इरानलाई नयाँ परमाणु सम्झौतामा सहमत गराउन दबाब बढाउँदै आएको थियो।
ट्रम्पले पटक-पटक अमेरिका ‘आवश्यक परेको खण्डमा तीव्रता र हिंसाका साथ’ कारबाही गर्न तयार र सक्षम रहेको चेतावनी दिँदै आएका थिए।
मध्यपूर्वमा लामो द्वन्द्वको जोखिमबारे सोधिएको प्रश्नमा ट्रम्पले भनेका थिए, ‘त्यहाँ सधैँ जोखिम हुन्छ। जब युद्ध हुन्छ, त्यहाँ राम्रो र नराम्रो दुवैथरी जोखिम हुन्छ।’
तर अहिले ट्रम्पको पछिल्लो भिडियो सन्देशले अमेरिकाले कूटनीतिक प्रयास छोडेर सैन्य कारबाहीको बाटो रोजेको स्पष्ट पारेको छ।
यसअघि इजरायलका रक्षामन्त्रीले इरानमाथि क्षेप्यास्त्र आक्रमणको जानकारी दिएका थिए। इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलभरि विशेष र स्थायी आपतकाल घोषणा गर्दै एक विज्ञप्ति जारी गरेका छन्।
इरानमाथिको पछिल्लो आक्रमणपछि, इजरायल र इरानले नागरिक विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
फागुन १६, २०८२ शनिबार १४:००:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।