जेफ्री एप्स्टिन प्रकरणबारे बिल क्लिन्टनले भने- ‘मैले केही गलत गरेको छैन’

जेफ्री एप्स्टिन प्रकरणबारे बिल क्लिन्टनले भने- ‘मैले केही गलत गरेको छैन’

एजेन्सी : पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित मामिलामा आफूले केही नदेखेको र कुनै गलत काम नगरेको बताएका छन्। न्युयोर्कमा कंग्रेसको एक समिति समक्ष बन्द कोठामा भएको दिनभरिको सुनुवाइमा उनले यस्तो बताएका हुन्।

हालै सार्वजनिक भएका एप्स्टिनसँग सम्बन्धित कागजात र तस्बिरहरूमा क्लिन्टनको नाम जोडिएपछि उनीसँग सोधपुछ गरिएको हो। सार्वजनिक भएको एउटा तस्बिरमा क्लिन्टन एक अपरिचित व्यक्तिसँग हट टबमा बसेको देखिएको थियो।

उनीभन्दा एक दिनअघि मात्र उनकी पत्नी तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि एप्स्टिनका अपराधहरूबारे आफूलाई केही थाहा नभएको भन्दै सोही समितिमा बयान दिएकी थिइन्।

थाहा पाएको भए आफैँ प्रहरीलाई बुझाउँथेँ
बयान दिनुअघि सार्वजनिक गरिएको लिखित मन्तव्यमा क्लिन्टनले एप्स्टिनको अपराधबारे आफूलाई कुनै सुइँको नभएको दाबी गरेका छन्।

‘यदि मलाई उसको कर्तुतबारे थोरै मात्र पनि थाहा हुन्थ्यो भने म उसँगको सम्बन्ध तोड्थेँ र उसको विमानमा कहिल्यै उड्ने थिइनँ,’ क्लिन्टनले भनेका छन्, ‘बरु म आफैँ उसलाई प्रहरीको जिम्मा लगाउँथेँ।’

न्युयोर्कमा बयान दिएपछि क्लिन्टनले एउटा भिडियो सन्देश जारी गर्दै जतिसुकै तस्बिर देखाए पनि आफूलाई एप्स्टिनका अपराधबारे केही थाहा नभएको कुरा दोहोर्याएका छन्।

उनले आफ्नो बयानको भिडियो सार्वजनिक भएपछि अरूलाई पनि कंग्रेससामु सत्य बोल्न र न्याय विभागलाई सबै फाइल सार्वजनिक गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि क्लिन्टन दम्पतीले यो अनुसन्धानलाई राजनीतिक रूपमा प्रेरित भन्दै बयान दिन अस्वीकार गरेका थिए। तर, कंग्रेसको अपहेलनाको कारबाही हुन सक्ने चेतावनीपछि उनीहरू हाउस ओभरसाइट कमिटी सामु बयान दिन तयार भएका हुन्।

हट टबको तस्बिरबारे के भने?
बयानका क्रममा क्लिन्टनलाई हट टबमा एक महिलासँग देखिएको तस्बिरबारे प्रश्न सोधिएको थियो। ती महिलाको पहिचान खुलाउन तस्बिरमा उनको अनुहार कालो पारिएको छ।

बीबीसीलाई प्राप्त जानकारी अनुसार क्लिन्टनले ती महिलालाई आफूले नचिनेको र उनीसँग कुनै शारीरिक सम्बन्ध नभएको बताएका छन्। हिलारी क्लिन्टनले बयान सकेपछि पत्रकारहरूसँग कुरा गरे पनि बिल क्लिन्टन भने बाहिरिएपछि सीधै गएका थिए।

‘यो ऐतिहासिक बयान हो’
हाउस ओभरसाइट कमिटीका रिपब्लिकन अध्यक्ष जेम्स कोमरले क्लिन्टनको बयान धेरै फलदायी भएको बताए। उनले क्लिन्टनले सबै प्रश्नको जवाफ दिएको वा दिने प्रयास गरेको जानकारी दिँदै आगामी दिनमा बयानको भिडियो र पूर्ण विवरण सार्वजनिक गरिने बताए।

कोमरले क्लिन्टन दम्पतीको बयानलाई ऐतिहासिक भन्दै कंग्रेससामु बयान दिने उनीहरू अहिलेसम्मकै उच्च पदस्थ अधिकारी भएको दाबी गरे। यद्यपि, सन् १९७४ मा पूर्व राष्ट्रपति जेराल्ड फोर्डले पनि रिचर्ड निक्सनलाई माफी दिएको विषयमा कंग्रेससामु बयान दिएका थिए।

डोनाल्ड ट्रम्पको पनि प्रसंग उठ्यो
क्लिन्टनको बयानका क्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जेफ्री एप्स्टिनबीचको सम्बन्धको विषय पनि उठेको थियो। हाउसका डेमोक्र्याट सांसदहरूले क्लिन्टनको बयानबाट ट्रम्पबारे केही नयाँ जानकारी प्राप्त भएको भन्दै अब ट्रम्पलाई पनि बयानका लागि बोलाउनुपर्ने माग गरेका छन्। 

समितिका शीर्ष डेमोक्र्याट रोबर्ट गार्सियाले भने, ‘अब देशमा बहालवाला र पूर्व राष्ट्रपतिले पनि यस समितिसामु बयान दिनुपर्ने नयाँ नजिर स्थापित भएको छ। ट्रम्पले पनि बयान दिनुपर्छ।’

यद्यपि, कोमरले भने ट्रम्पको यस प्रकरणमा कुनै संलग्नता नभएको र उनी पहिल्यै निर्दोष साबित भइसकेको दाबी गरे। क्लिन्टनलाई ट्रम्पले बयान दिनुपर्छ कि पर्दैन भनी सोधिएको प्रश्नमा उनले ‘त्यो निर्णय गर्ने जिम्मा तपाईंहरूकै हो’ भन्ने जवाफ दिएका थिए।

उता, डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै क्लिन्टनले यसरी बयान दिनुपरेको देख्दा आफूलाई राम्रो नलागेको प्रतिक्रिया दिएका छन्।

एप्स्टिनसँग क्लिन्टनको सम्बन्ध के थियो?
क्लिन्टनले सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि आफ्नो च्यारिटी (परोपकारी) कामको सिलसिलामा एप्स्टिनसँग सम्पर्क भएको बताएका छन्।

उनले दुई दशकअघि नै एप्स्टिनसँग सम्बन्ध तोडेको र ऊसँग जोडिनुपरेकोमा आफूलाई पछुतो रहेको बताउँदै आएका छन्। 

यौन बेचबिखनको आरोपमा पक्राउ परेका एप्स्टिनको सन् २०१९ मा न्युयोर्कको एक जेलमा पुर्पक्षका लागि थुनामा रहेकै बेला मृत्यु भएको थियो। 

अमेरिकाको न्याय विभागले सार्वजनिक गरेका एप्स्टिनका हजारौँ कागजातहरूमा क्लिन्टन दम्पतीको नाम सयौँ पटक उल्लेख छ।

यद्यपि, ती कागजातमा नाम हुनुले मात्र उनीहरूले कुनै अपराध गरेको पुष्टि भने गर्दैन। ती कागजातहरूले एप्स्टिनको कति धेरै उच्च पदस्थ व्यक्तिहरूसँग पहुँच थियो भन्ने कुरालाई उजागर गरेका छन्।

फागुन १६, २०८२ शनिबार १०:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।