म्याग्दीको दरखोलामा पुल नबन्दा ७०० परिवारलाई सास्ती, चार वर्षदेखि डिपिआरमै सीमित
म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ। पुल नहुँदा धौलागिरि गाउँपालिकाका वडा नं. ३ (दर) र वडा नं. ४ (मुदी) का करिब ७०० घरपरिवार सीधा यातायात सम्पर्कबाट वञ्चित भएका छन्।
दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावमा कार्यान्वयन हुन सकेको छैन।
पुल नहुँदा हिउँदको समयमा ह्युम पाइप राखेर सवारीसाधन चलाउने गरिए पनि बर्खायाम (असारदेखि कात्तिकसम्म) मा भने दरखोलाको बाढीले बाटो पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ। यसले गर्दा मुदी, बगर, नाउरा, नेरवाङ, चेचुङ, खिवाङ र खाम्ला बस्तीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुनासम्म पुग्न कठिन भएको छ।
मुदीको धौलागिरि युवा क्लबका अध्यक्ष विशाल घर्तीले दरखोलाको मोटरेबल पुल आफूहरूको प्रमुख माग र आवश्यकता भएको बताए। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँमा आएका उम्मेदवारहरूसँग दरखोलामा पुल बनाउन माग गरिएको उनले बताए।
पुल नहुँदा बर्खामा खाद्यान्न र निर्माण सामग्री ढुवानी, बिरामीलाई अस्पताल लैजान, कृषि र पशुजन्य वस्तु बजार पठाउन समस्या भएको दरका हरिप्रसाद बुढाले गुनासो गरे।
दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि धौलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो। गण्डकी प्रदेश सरकारले आव २०८०/०८१ मा ५० लाख र २०८१/०८२ मा ३० लाख बजेट विनियोजन भए पनि राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण बजेट थपेर स्रोत सुनिश्चितता गराउन नसक्दा कार्यान्वयन हुन सकेन।
आव २०८२/०८३ मा सङ्घीय सरकारसँग माग गरेको योजना सम्बोधन नभएपछि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष रेशम पुनमगरले बताए। गाउँपालिकाको नीति तथा कार्यक्रममा दर, मुदी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँग समन्वय गरेर दरखोलामा बेलिब्रिज बनाउने उल्लेख गरेको छ।
प्रभावित क्षेत्रका बासिन्दाहरू जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वको रकम पुलमा खर्च गर्न नहुने अडानमा छन्। जलविद्युत् आयोजनाहरू थप व्ययभार बेहोर्न चाहँदैनन्।
गाउँपालिकासँग आवश्यक पर्ने पर्याप्त आर्थिक स्रोतको अभावका कारण दरखोलामा पुल बनाउने योजना कार्यान्वयनमा ढिलाइ भएको जनप्रतिनिधिको भनाइ छ।
फागुन १६, २०८२ शनिबार १०:२०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।