कलाकार उद्धवप्रसाद भट्टराईको हिजोका कुरा : सित्तैमा काम गरिरहेको मलाई एकैपटक ‘५० हजार दिन्छु’ भन्दा अलमलिएँ
काठमाडौं : १२ वर्षको उमेरमा जन्मथलो सिन्धुपाल्चोकको मेलम्चीबाट भागेर काठमाडौं हिँडेका चरित्र अभिनेता उद्धवप्रसाद भट्टराईको जीवन-संघर्ष कुनै चलचित्रको कथाभन्दा कम छैन। सानैमा ज्यामी कामदेखि तरकारी र किराना पसल चलाउँदै उनी विस्तारै कलाकारिताको दुनियाँमा होमिएका हुन्।
तरकारी पसल चलाउने क्रममा बौद्धको महांकाल ओरालोमा लुटिएको डरलाग्दो क्षण होस् वा कालीमाटीमा तरकारी लोड गरेको छिमेकीको साइकल चोरी हुँदाको तनाव- उनको जीवनका पानामा अनेकन् रङ पोतिएका छन्।
सिरियलमा अभिनय गर्दा चियासमेत आफ्नै गोजीको पैसाले किनेर खानुपर्ने कहालीलाग्दो अवस्थाबाट गुज्रिएका उनले जब एउटा विज्ञापनमा एकैपटक ५० हजार रुपैयाँ पारिश्रमिक पाए, उनको जीवनले नयाँ मोड लियो।
उमेरले ६० वर्षतर्फ लम्कँदै गरेका उद्धवलाई नचिन्ने नेपाली दर्शक विरलै होलान्। नेपालको सर्वाधिक सफल चलचित्र शृंखला ‘छक्का पञ्जा’ टिमको हरेक फिल्ममा उनी कुनै न कुनै भूमिकामा अटाएकै हुन्छन्। अब उनी आफैँ चलचित्र निर्माण र निर्देशनको तयारीमा छन्।
१२ वर्षको उमेरमा ‘अब सिन्धुपाल्चोक नफर्कने’ अठोटका साथ काठमाडौं छिरेका उनले भोगेका दुःख, हन्डर र सफलताको कथा उकेराको नियमित कोलम ‘हिजोका कुरा’ उनले यसरी बयान गरे:
०००
आँखै अगाडि दिदीभाइ बितेपछि उब्जिएको त्रास
मेरो जन्म २०२५ सालमा सिन्धुपाल्चोक जिल्लाको तत्कालीन मेलम्ची गाविस वडा नम्बर ३, जरायोटारमा भएको हो। मैले थाहा पाउँदा हाम्रो त्यो ठाउँमा १८ घर त भट्टराई परिवारको मात्रै थियो। तीन जना हजुरबुवाका सन्तानको त्यो ठूलो बस्ती थियो। जग्गाजमिन प्रशस्त हुने र उहाँहरूकै छत्रछायामा छोरानातिहरूको बसोबास हुन्थ्यो।
त्यहाँ बस्दै गर्दा हाम्रो परिवारका सदस्यहरूलाई धेरै बिरामी पर्न थाले। सन्चो नभएपछि बुवाले अलि पर ‘ढकालथोक’ भन्ने ठाउँमा बसाइँ सार्नुभयो। तर, त्यहाँ सरेको २-३ वर्षपछि मलाई गाउँमा बस्नै मन लागेन। काठमाडौं गएर पढ्ने भूत चढ्यो। गाउँमा जालपा माध्यमिक विद्यालय त थियो, तर मेरो घरको माहोल पढाइका लागि त्यति अनुकूल थिएन।
हामी ४ जना दिदीबहिनी र ३ जना दाजुभाइ थियौँ। छोरामध्ये म जेठो हुँ। दुर्भाग्यवश, आज मेरा चारै जना दिदीबहिनी यो संसारमा हुनुहुन्न। कोही १६ वर्ष पुगेपछि बित्नुभयो, कोही ८ वर्षमा, त कोही आमाले जन्माएको २-३ महिनामै बिते।

कोही त बिरामी नै नभई एक्कासी बिते। मेरो एउटा भाइ थियो पुरुषोत्तम भन्ने, ऊ एकदमै हट्टाकट्टा र सरसाउँदो थियो। घरमा श्राद्ध परेको दिन फलफूल खाँदै काम गरिरहेको थियो, तर अचानक के भयो कुन्नि, फ्याट्टै ज्यान गयो। ऊ त्यतिबेला जम्मा ४-५ वर्षको थियो।
यसरी आँखै अगाडि दिदीबहिनी र भाइ भटाभट बितेपछि सायद हामीलाई पनि गाउँमै बसेको भए के हुन्थ्यो भन्ने त्रास मनमा गढेको थियो। म घरमा ढिपी गरेरै भागेर काठमाडौं हिँडेको हुँ। म काठमाडौं हिँडेपछि, भटाभट सन्तान गुमाउनुको पीडा र आमालाई पनि गाउँमा सन्चो नहुने कारणले गर्दा बुवाआमा पनि बाध्य भएर काठमाडौं आउनुभयो।
त्यतिबेला म नयाँ बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयमा भर्ना भएर पढ्न सुरू गरिसकेको थिएँ। यो ४० सालभन्दा अगाडिकै कुरा हो। बुवाआमा काठमाडौं आएपछि हामीले बौद्ध महांकालमा महिनाको सय रुपैयाँ भाडा तिर्ने गरी दुईवटा कोठा लियौँ र बस्न थाल्यौँ।
म पहिलोपटक काठमाडौं आउँदा बाटोमा कतै हिँड्दै त कतै बस चढ्दै आएको थिएँ। यहाँ आइपुग्दा मेरो खल्तीमा जम्मा डेढ-दुई रुपैयाँ मात्र थियो। सानो बच्चा भएकाले बसको भाडा लागेन। काठमाडौंमा मेरो भेट नुच्छे नारायण श्रेष्ठसँग भयो। उहाँ त्यही व्यक्ति हुनुहुन्थ्यो, जसलाई हामी गाउँमा भैँसीको दूध बेच्थ्यौँ।
उहाँले मलाई देख्नेबित्तिकै सोध्नुभयो, ‘ओए भट्टराई बाहुन, भागेर काठमाडौं हिँडिस् कि क्या हो?’ मैले टाउको हल्लाएर ‘हो’ भनेँ। सुन्धारामा उहाँको एउटा सानो होटल रहेछ, सुरुका केही दिन मैले त्यहीँ भाँडा माझेर बिताएँ। त्यतिबेला बाहुनको छोरालाई होटलमा भाँडा माझ्न वा जुठो काम लगाउन मान्छेहरू हिच्किचाउँथे, पाप लाग्छ भन्थे। त्यसैले उहाँले मलाई अलि सजिला काम मात्र अह्राउनुहुन्थ्यो।
बुवा र म ज्यामी, भाइटीकाकै दिन आमाको वियोग
हाम्रो गाउँमा सम्पत्तिको कमी थिएन। ५ हल गोरुले दिनभर जोतेर नसकिने बारी थियो। गाउँको खेतमा १८/१९ मुरी धान फल्थ्यो।
मेलम्चीको बेँसीमा त २० मुरीभन्दा धेरै धान फल्ने एक खण्ड खेत नै थियो। बुवाले त्यो सबै जग्गाजमिन जम्मा ३९ हजार रुपैयाँमा बेचेर काठमाडौं आउनुभएको थियो। छोराकै लागि जोडेको सम्पत्ति, छोरो नै गाउँ नफर्कने भएपछि उहाँहरू पनि यतै आउनुभयो।
त्यो पैसा बैंकमा जम्मा थियो। तर काठमाडौंको बसाइ सहज थिएन। दैनिक गुजारा चलाउन महांकालमा डेरा लिएर बुवा र म ज्यामी काम गर्न जान थाल्यौँ। आमा रोगी भएकाले काम गर्न सक्नुहुन्नथ्यो। महांकालमा बसेको एक वर्ष पनि राम्ररी पुगेको थिएन, तिहारको भाइटीकाको दिन बेलुका आमाले सधैँका लागि संसार छोड्नुभयो।
एकातिर चारैतिर झिलिमिली बत्ती बलेको थियो, मानिसहरू मीठा परिकार खाँदै रमाइलो गरिरहेका थिए, अर्कोतिर हाम्रो घरमा रुवावासी चलिरहेको थियो। त्यसैले आज पनि जब अरू भाइटीका लगाएर रमाइलो गरिरहेका हुन्छन्, म मेरी आमाको श्राद्ध गरिरहेको हुन्छु।
आमा बितेको १३ दिनको काजकिरिया सकेपछि बुवा र म फेरि त्यही ज्यामी काममा फर्कियौँ। बुवाले ज्यामी काम गर्दा दिनको ४० रुपैयाँ पाउनुहुन्थ्यो भने म बच्चा भएकाले २० रुपैयाँ मात्र पाउँथेँ। बिस्तारै मेरो पढाइभन्दा काममा बढी ध्यान जान थाल्यो। जेनतेन चाबहिलको पशुपति माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ, तर त्योभन्दा माथि पढ्न सकिनँ।
त्यसपछि मैले एउटा गार्मेन्टमा हिसाबकिताब राख्ने जागिर पाएँ। यो जागिर पाउन पनि चानचुने संघर्ष थिएन, कि त आफन्त हुनुपर्थ्यो कि त एकदमै जान्ने। मैले सुरुमा ३ सय रुपैयाँ तलबमा त्यो काम सुरु गरेँ।
यता बुवाले गाउँको खेत बेचेर ल्याएको ३९ हजारमध्ये २० हजार खर्चेर हामीले कपनको मिलनचोकमा ४ आना जग्गा किन्यौँ। बाँकी १८ हजारले जस्तापाता हालेको एकतले घर बनायौँ र त्यहीँ सर्यौँ।
गार्मेन्टको जागिर र मजदुर आन्दोलन
गार्मेन्टमा काम गर्दा गर्दै मेरो प्रगति भयो। म बाहिर निर्यात हुने सामानको गुणस्तर जाँच्ने पदमा पुगेँ। मेरो तलब ३ सयबाट बढेर २५ सय रुपैयाँ पुग्यो।
त्यहाँ काम गर्ने मजदुरहरू नराम्रा थिएनन्, तर गार्मेन्टका भित्री विकृतिहरू भने प्रशस्तै थिए। विशेषगरी महिला कामदारहरूलाई भारतीय कामदार वा मालिकहरूले गर्ने व्यवहार अलि फरक हुन्थ्यो। कतिपयको त त्यहीँ विवाह पनि भयो। यही विकृतिका कारण गार्मेन्टमा काम गर्ने भन्नेबित्तिकै समाजले हेर्ने दृष्टिकोण अलि फरक थियो।

२०४८ सालतिर मजदुरहरूले संगठन खोल्न थाले। मालिकहरूसँग सुविधा माग्दै आन्दोलन चर्किन थाल्यो। राजनीतिक दलका संगठनहरू छिरेपछि साहुहरू मारमा परे। म आफैँ पनि जिफन्टसँग जोडिएर आन्दोलनमा होमिएको थिएँ।
तलब बढाउनुपर्ने, काम छोड्दा उपदान दिनुपर्ने जस्ता माग राखेर कामभन्दा बढी आन्दोलन हुन थालेपछि अन्ततः साहुहरू डुबे र गार्मेन्ट नै बन्द भयो। यसरी हाम्रो आफ्नै हातले आफ्नो रोजगारी गुमायौँ। जागिर गुम्दा मैले पाएको १२-१५ हजार रुपैयाँले आफ्नै घरमा १७ हजारको सामान हालेर एउटा सानो किराना पसल सुरु गरेँ, जसले मलाई आजको दिनसम्म डोर्यायो।
तरकारी पसल, लुटपाट र हराएको साइकल
त्यतिबेलासम्म मेरो विवाह भइसकेको थियो। गार्मेन्टको जागिर छुटेपछि कपनको घरमै श्रीमती र म मिलेर किराना तथा तरकारी पसल चलाउन थाल्यौँ। पसल राम्रै चल्यो। म बिहानै ३ बजे साइकल लिएर कालीमाटी तरकारी लिन जान्थेँ। फर्कंदा चाबहिलबाट दूधका पोकाहरू पनि बोकेर ल्याउँथेँ।
एक दिन बिहान ३ बजे तरकारी लिन जाँदै गर्दा महांकालको उकालोमा एउटा रुखको आडमा लुकेर बसेका ४ जना केटाहरूले मेरो साइकल रोके। मेरो कठालो समातेर पैसा मागे। मेरो गोजीमा त्यतिबेला करिब ३ सय रुपैयाँ थियो, जसले एक साइकल तरकारी आउँथ्यो।
अचानक तीमध्ये एउटाले भन्यो, ‘छोड्दे छोड्दे, चिनेको दाइ रहेछ!’ उनीहरूले मलाई छोडेर बाटो लागे। डरले मेरा खुट्टा लुगलुग कामिरहेका थिए, अगाडि बढ्नै सकेनन्। तर सास दबाएर जेनतेन माथि उक्लिएँ। ओरालो लागेपछि भने यति जोडले साइकल कुदाएँ कि मलाई आफैँ हावामा उडेजस्तो लाग्यो।
अर्को दुःखद घटना पनि छ। एकदिन छिमेकी दाइको साइकल मागेर कालीमाटी गएको थिएँ। साइकलभरि तरकारी लोड गरेर अलिकति अगाडि बढेपछि याद आयो- धनियाँ त लिन बिर्सिएछु। साइकल त्यहीँ अड्याएर दौडिँदै धनियाँ लिन गएँ। फर्केर आउँदा साइकल त्यहाँ थिएन!
त्यो साइकलको मूल्य त्यतिबेला करिब २५ सय रुपैयाँ पर्थ्यो। धनियाँको मुठो त्यहीँ फालेर गाडी चढेर घर फर्किएँ। दाइको अफिस जाने साइकल हराएपछि निकै तनाव भयो। पछि मैले खल्तीबाट २५ सय रुपैयाँ तिरेर त्यो ऋण चुक्ता गरेँ।
रहरै रहरमा कलाकारिताको फड्को
कलाकारितामा मेरो प्रवेश एकदमै नाटकीय रूपमा भयो। यो करिब ३० वर्षअघिको कुरा हो। मेरो मावली ढकाल हुन्। हरि ढकाल भन्ने एक जना दाइ हुनुहुन्थ्यो, जसले ‘मुनामदन’ फिल्म बनाएर घाटा बेहोर्नुभएको थियो। उहाँ हाम्रो पसलमा आउँदा रमाइलो ठट्टा गरिरहनुहुन्थ्यो।
एकदिन उहाँले मलाई ‘सुटिङ हेर्न जाने हो?’ भनेर सोध्नुभयो। मैले पनि पसलको काम श्रीमतीलाई जिम्मा लगाएर ‘हुन्छ’ भनेँ। हामी दयाराम दाहालको निर्देशनमा बन्दै गरेको सिरियल ‘अपसख’ को सुटिङ हेर्न गयौँ। यो राणाकालीन परिवेश र सतीप्रथामा आधारित कथा थियो।
सुटिङमा एउटा दृश्य थियो, जहाँ एक जना पुलिसले ‘तपाईंले राष्ट्रलाई ठूलो घात हुने काम गर्नुभयो, अब चारपाटा मोडेर डाँडा कटाइन्छ’ भन्ने संवाद बोल्नुपर्ने थियो। तर ती कलाकारले त्यो संवाद बोल्नै सकेनन्। अनि हरि दाइले निर्देशकलाई भन्नुभयो, ‘मेरो भान्जाले बोलिहाल्छ नि, बाठो छ।’

मलाई तत्कालै ती कलाकारको पुलिस ड्रेस फुकालेर लगाइयो। निर्देशकले सिकाएअनुसार मैले पहिलो टेकमै त्यो संवाद बोलेँ, दृश्य ‘ओके’ भयो। दुर्भाग्यवश, त्यो सिरियल कहिल्यै टेलिभिजनमा प्रसारण भएन। तर त्यही एक दृश्यले मभित्र कलाकारिताको भोक जगाइदियो। त्यतिबेला टिभीमा एक झलक अनुहार देखिनु भनेको धेरै ठूलो कुरा हुन्थ्यो।
त्यसपछि सुटिङको प्रोडक्सन हेर्ने अनन्त तिमल्सिनासँग मेरो मित्रता बढ्यो। जहाँ सुटिङ हुन्थ्यो, उहाँले मलाई ल्यान्डलाइन फोन गरेर बोलाउन थाल्नुभयो। म पसल छोडेर कुदिहाल्थेँ। पारिश्रमिकको त कुरै हुँदैनथ्यो। उनीहरू पैसा दिन नपरे हुन्थ्यो भन्ने सोच्थे, म अभिनय गर्न पाए पुग्छ भनेर पैसै माग्दिनथेँ।
सुरू-सुरूमा मैले ‘गंगा जमुना’, ‘गहना’ जस्ता सिरियलमा पछाडि बसेर ताली बजाउने र भीडमा उभिने काम मात्र पाएँ। पछि दीपाश्री निरौला र दीपकराज गिरीको ‘तीतो सत्य’ मा पनि सुरुमा ताली बजाउने भीडमै थिएँ।
एकदिन दीपाश्री निरौला अभिनेत्री सरिता लामिछानेको घरमा पुग्नुभएको रहेछ। उहाँलाई ‘तीतो सत्य’ मा एउटा सचिवको भूमिकाका लागि कलाकार चाहिएको रहेछ। सरिता भाउजूले मेरो नाम सिफारिस गरिदिनुभयो। त्यसपछि मलाई बोलावट आयो र मेरो कलाकारिताले अलि फराकिलो बाटो पायो।
त्यो ५० हजारको अफर!
कलाकारितामा संघर्ष गरिरहँदा मैले सीताराम कट्टेल (धुर्मुस) सँग एउटा ‘हाजमोला’ को विज्ञापनमा काम गर्ने अवसर पाएँ। खासमा म क्राउड (भीड) को लागि मात्र गएको थिएँ, तर विदेशी निर्देशकले मेरो हाँसो र अनुहारको हाउभाउ मन पराएर राम्रै भूमिका दिए।
त्यसको एक हप्तापछि मलाई ‘कलर्स मोबाइल’ को विज्ञापनका लागि मुख्य भूमिकामा अफर आयो। उनीहरूले मलाई सोधे, ‘तपाईं पारिश्रमिक कति लिनुहुन्छ?’
म त फसादमा परेँ। त्यति धेरै सिरियल र विज्ञापन खेलिसकेको थिएँ, तर आजसम्म एक रुपैयाँ पाएको थिइनँ। ५ हजार भनूँ भने थोरै होला भन्ने डर, १० हजार भनूँ भने महँगो भयो भनेर नखेलाउलान् भन्ने डर! मैले डराउँदै भनेँ, ‘हजुरहरूले जति दिनुहुन्छ, म त्यति नै लिन्छु। तर म खेल्छु।’
तर उनीहरूले मानेनन्, एग्रिमेन्ट गर्नुपर्छ भनेर कर गरे। अनि प्रोडक्सनको मान्छेले भने, ‘हामीले तपाईंको लागि ५० हजार रुपैयाँ जति छुट्याएका छौँ, काम गर्न सक्नुहुन्छ?’
म केहीछिन त बोल्नै सकिनँ। स्तब्ध भएँ। ५० हजार! मैले सपनामा पनि त्यति धेरै पैसा एकमुष्ट पाउने सोचेको थिइनँ। मैले हत्तपत्त ‘हुन्छ’ भनेँ। त्यो विज्ञापन यति हिट भयो कि, मेरो अनुहार शहरका ठूला होर्डिङ बोर्डहरूमा छापियो, रेडियो र टिभीमा मेरै आवाज बज्न थाल्यो।
त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन। मैले ‘हाम्रो माया जुनीजुनीलाई’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘श्रीमान्-श्रीमती’, ‘प्रहार’ हुँदै पछिल्लो समय ‘गुन्यू चोलो’ जस्ता फिल्ममा राम्रै पारिश्रमिक लिएर काम गरेँ। अहिलेसम्म तीन दर्जन हाराहारी फिल्म र ४० भन्दा बढी टेलिफिल्ममा अभिनय गरिसकेको छु। ‘छक्का पञ्जा’ का सबै सिरिजमा मेरो उपस्थिति छ।
हिमालय टेलिभिजनबाट प्रसारण भएको ‘४२० को झड्का’ नामक हास्य शृंखला मैले आफैँ निर्माण तथा निर्देशन पनि गरेँ। अहिले म अभिमन्यु निरवीले लेखिरहनुभएको एउटा नयाँ चलचित्र निर्माण तथा निर्देशन गर्ने तयारीमा छु, जसको सुटिङ चाँडै सुरु हुँदैछ।
पहिलेको तुलनामा अहिले कलाकार बन्न धेरै सहज भएको छ। हातहातमा स्मार्टफोन र टिकटक, युट्युब जस्ता प्लेटफर्मले जोकोहीलाई आफ्नो प्रतिभा देखाउने बाटो खोलिदिएको छ। तर, हामीले चिया खर्चसमेत नपाई गरेको त्यो संघर्ष र भोगेको दुःख मेरा लागि सधैँ अविस्मरणीय रहनेछ।
फागुन १६, २०८२ शनिबार ०९:४८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।