झापामा सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

झापामा सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर : झापाको बिर्तामोड नगरपालिका-४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए।

पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका-६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कार चालक बिर्तामोड नगरपालिका-६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए।

फागुन १६, २०८२ शनिबार ०७:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।