उजुङवासीको आँगनमा पानी आयो, अब बुहारी पनि आउँछन्!

उजुङवासीको आँगनमा पानी आयो, अब बुहारी पनि आउँछन्!

बुटवल : कुनै समय गुल्मीको इस्मा गाउँपालिका-१, उजुङवासीका लागि पानीको जोहो गर्नु नै जीवनको  ठूलो संघर्ष थियो। पहाडको थुम्कोमा रहेको बस्तीमा आकाशे पानी संकलन गर्नुको विकल्प थिएन। 

तर आज उजुङको तस्बिर फेरिएको छ। घर-घरमा जडान गरिएका धारामा पानी आउन थालेको छ। वर्षौंको प्रतीक्षापछि आएको पानीले स्थानीयको प्यास मात्र मेटाएको छैन, गाउँको सामाजिक, आर्थिक र सांस्कृतिक जनजीवनसमेत सजिलो बनाएको छ।

उजुङकी माया विश्वकर्मा विगत सम्झँदा अझै भावुक हुन्छिन्। उनी भन्छिन्- "एक गाग्री पानी लिन रातभर कुवामा पालो कुर्नुपर्थ्यो। नुहाउन र कपडा धुन त कहिलेकाहीँ मात्रै पाइन्थ्यो।"

अग्लो भौगोलिक अवस्थाका कारण गाउँ नजिक पानीका मुहान थिएनन्। भएका स्रोतहरू क्रमशः सुक्दै गए। पानी ल्याउन घण्टौं उकाली-ओराली गर्नुपर्ने बाध्यता थियो। कहिलेकाहीँ पानी नपाएर खाली भाँडा बोकेर फर्किनुपर्ने अवस्था सामान्य थियो। पानीको अभावले दैनिक जीवन मात्र होइन, सामाजिक सम्बन्धसमेत प्रभावित थियो।

"पानीकै कारण यहाँ छोरी दिन पनि मान्छे डराउँथे। पाहुना आउँदा समेत असहज लाग्थ्यो," उनले भनिन्।

स्थानीय सागर परियार पानी बोक्न जाँदा विद्यालय नै जान नपाएको बताउँछन्। "पहिलेको तुलनामा यहाँको विकास धेरै भएको छ। विद्युत आएको छ। सडक छ। खानेपानी आएको छ। घरमा इन्टरनेटको पहुँच पुगेको छ। कतिसम्म भने हामी पानी ल्याउन जाँदा विद्यालय जानसमेत कठिनाइ थियो," उनले भने, "पानी बोक्न जाँदा नै स्कुल जान पाउने थिएनौं। पानी आएपछि धेरै परिवर्तन भयो।"

जब डाँडामा पानी ल्याउन सम्भव भयो

उजुङको बस्ती डाँडाको टुप्पोमा छ। तल रहेको स्रोतबाट पानी माथि ल्याउने कुरा स्थानीयका लागि कहिल्यै सम्भव नलाग्ने सपना थियो।

कृष्णबहादुर सुनार गाउँमा कसैले पानीको आस देखाउँदा 'टाउकोमै बोकेर ल्याइदिन्छन् नि!' भनेर खिसी गरेको सम्झिन्छन्। "उजुङमा पानी ल्याउँछ भनेर नेताले भन्दा बोकेर घरमै नेताले पानी ल्याइदिन्छ र खाउँला भन्थे!," उनले भने।

२०७० सालमा सुरु गरिएको दुनदुरे खोला उजुङ-हर्पुकोट लिफ्टिङ खानेपानी आयोजना पाँच वर्षपछि सम्पन्न भयो। नेपाल सरकारको ३ करोड ६९ लाख रुपैयाँ लागतमा निर्माण भएको योजनाले करिब ९५० मिटर तलको दुनदुरे खोलाबाट पानी तानेर डाँडामाथि पुराइएको छ। आज उजुङका १ सय ४७ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ।

पानीसँगै फर्कियो जीवन

हिजोसम्म यस गाउँ 'काकाकुल' थियो। बिहान आँखा खुलेदेखि राति ननिदाउन्जेलसम्म गाउँलेको एउटै ध्येय हुन्थ्यो- 'कहाँबाट पानी जोहो गर्ने?' तर, लिफ्टिङ प्रविधिमार्फत गाउँमा पानी पुगेसँगै अहिले यहाँको दैनिकी पूर्णरूपमा बदलिएको छ। स्थानीयले वर्षौंदेखिको सास्तीबाट मुक्ति पाएका छन्। 

खानेपानी समितिका सचिव नारायण कुँवरका अनुसार अहिले दुई सयभन्दा बढी व्यक्तिले नियमितरूपमा स्वच्छ पानी प्रयोग गरिरहेका छन्। उपभोक्ताबाट प्रतिव्यक्ति ३ हजार ५५ रुपैयाँ संकलन गरिएको छ।

"पानी आएपछि गाउँमा बस्न सहज भएको छ," कुँवर भन्छन्, "पहिले बसाइसराइ बढ्दो थियो, अहिले मानिसहरू फर्किने कुरा गर्न थालेका छन्।"

सामाजिक संस्कारमा सहजता

पानी अभावका कारण विवाह, व्रतबन्ध र सामूहिक कार्यक्रम गर्न कठिन हुने अवस्था अब हटेको छ। गाउँमा पाहुना आउँदा पनि स्थानीयले दकस मान्न छाडेका छन्। स्थानीयहरू व्यंग गर्दै अहिले भन्छन्- "पहिले पानी नभएर बुहारी आउँदैन थिइन, अहिले पानी आयो, बुहारी पनि आउँछन्।" यो भनाइ उजुङको सामाजिक परिवर्तनको प्रतीक बनेको छ।

गाउँपालिकाभर फैलिँदै पानी योजना

इस्मा गाउँपालिकाको उजुङ मात्र होइन, अन्य वडामा समेत लिफ्टिङ खानेपानी योजना विस्तार भएका छन्। ९६ लाख लागतको चाँपटारी-दमार-रातामाटा लिफ्टिङ योजना सम्पन्न भई ७४ घरधुरी लाभान्वित भएका छन्। 

अमरपुरको चौरासी खानेपानी योजना, दोहलीको डोटेका रह लिफ्टिङ आयोजना, आठमाने लिफ्टिङ योजना तथा सिस्ने खोला-काफलका रुख खानेपानी योजना सञ्चालनमा छन्। ढाँढ खोला-रामकोट तथा खग्रेटा खानेपानी योजना निर्माणकै चरणमा रहेका छन्।

फागुन १५, २०८२ शुक्रबार १८:२३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।