जेनजी आन्दोलनबारे बीबीसीको खुलासा : फिल्डबाट गोली चलाउन अनुमति मागेपछि खापुङले भनेका थिए- ‘कर्फ्यू लागिसक्यो, आदेश माग्नुपर्दैन’

जेनजी आन्दोलनबारे बीबीसीको खुलासा : फिल्डबाट गोली चलाउन अनुमति मागेपछि खापुङले भनेका थिए- ‘कर्फ्यू लागिसक्यो, आदेश माग्नुपर्दैन’

काठमाडौं : नेपालमा हजारौं युवा र निहत्था प्रदर्शनकारीहरूमाथि घातक हतियार (गोली) चलाउन देशका पूर्व प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलासा गरेको छ।

भदौ २३ गते काठमाडौंमा मारिएका १९ जनामध्ये स्कुलको पोशाकमा रहेका एक किशोर पनि थिए। भीडबाट टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो। यस घटनामा दर्जनौं मानिस घाइते भएका थिए।

राजनीतिक भ्रष्टाचारविरुद्ध हप्तौंदेखि गुम्सिएको आक्रोशपछि जेन-जी भनेर चिनिने युवा पुस्ताले गरेको यो प्रदर्शनपछि थप आन्दोलन चर्किएको थियो। जसको फलस्वरूप भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

बीबीसी वर्ल्ड सर्भिसको टोलीले भदौ २३ को घटनाक्रमको विस्तृत विवरण भएको प्रहरीको एक आन्तरिक कागजात फेला पारेको दाबी गरेको छ।

यसले ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि आफ्ना अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको देखाउँछ। यो आदेश फिल्डमा रहेका अधिकारीहरूले गोली चलाउन पटक-पटक अनुमति मागेपछि दिइएको थियो।

वाकेटकीबाट सञ्चारका लागि प्रयोग गर्न प्रहरीमा कल साइन राखिन्छ। ‘पिटर १’ प्रहरी महानिरीक्षक (आईजीपी) का लागि प्रयोग हुने कल साइन हो।

खापुङले आफूले उक्त आदेश दिएको कुरा अस्वीकार गरेका छैनन्। तर, नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको अनुमति पाएपछि र कानुनअनुसार बल प्रयोगका अन्य सबै उपाय अपनाइसकेपछि मात्र यस्तो आदेश दिइएको जनाएको छ।

जेन-जी आन्दोलनपछि अवकाश पाएका खापुङले बीबीसीको प्रतिक्रियाको अनुरोधलाई भने जवाफ नदिएको रिपोर्टमा उल्लेख छ।

बीबीसीले परीक्षण गरेको भिडिओ प्रमाणअनुसार सो दिन ज्यान गुमाउने १९ जनामध्ये सबैभन्दा कान्छा, १७ वर्षीय श्रीयम चौलागाईं निहत्था थिए र उनी घटनास्थलबाट बाहिरिने प्रयास गरिरहँदा मारिएका थिए।

भदौ २३ गतेका घटनाहरूबारे अहिले सार्वजनिक छानबिन भइरहेको छ तर यसको प्रतिवेदन आउन बाँकी छ। अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन। त्यस्तै, आगामी फागुन २१ गते आम निर्वाचन हुँदैछ।

बीबीसीले ४ हजारभन्दा बढी भिडिओ र फोटोहरूको विश्लेषण गरेर यस घटनाको सिलसिलेवार विवरण तयार पारेको उल्लेख गरेको छ।

पृष्ठभूमि र युवाहरूको आक्रोश
१० वर्ष लामो सशस्त्र द्वन्द्वपछि २०६५ मा नेपाल गणतन्त्र बनेको नेपालमा नयाँ संविधान बनेको एक दशक बितिसक्दा पनि आफ्ना आशाहरू पूरा नभएको धेरै युवाहरूको गुनासो छ।

यो निराशा अनलाइनमा, विशेषगरी १४ देखि २९ वर्ष उमेर समूहका जेनजीहरूमा बढी देखिन्छ। सेप्टेम्बर ४ मा सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स (ट्विटर) लगायतका केही प्लेटफर्ममा प्रतिबन्ध लगाएपछि युवाहरू गेमिङ च्याट प्लेटफर्म ‘डिस्कोर्ड’ तर्फ लागे।

‘युथ अगेन्स्ट करप्सन’ नामक फोरममा उनीहरूले भदौ २३ मा संसद भवनबाहिर प्रदर्शन गर्ने योजना बनाए। श्रीयमकी आमा उनलाई प्रदर्शनमा पठाउन चाहन्नथिन्। उनले बीबीसीलाई भनिन्, ‘मैले उसलाई नजान भनेकी थिएँ। आन्दोलनमा जे पनि हुन सक्छ।’

तर उनका बुवाका अनुसार श्रीयम राजनीतिप्रति निकै चासो राख्थे। बुवाले भने, ‘उसले नेपाललाई भ्रष्टाचारले खोक्रो बनाएको छ भन्थ्यो। ऊ मभन्दा धेरै जानकार थियो।’

श्रीयमले आफ्नी आमालाई आन्दोलनमा युवाहरू मात्र हुने र स्कुलको पोशाकमा भएकाले आफूहरूलाई तारो नबनाइने भन्दै विश्वस्त पारेका थिए।

‘ऊ निकै जिज्ञासु थियो- संसारमा के भइरहेको छ भनेर जान्न चाहन्थ्यो’, आमाले भनिन्।

रक्तपातपूर्ण त्यो दिनको घटनाक्रम:
बिहान ९  बजे:
युवाहरू माइतीघर मण्डलामा भेला हुन थाल्छन्।करिब ३० हजार मानिस प्रदर्शनमा उत्रिए, जुन प्रहरीले अनुमान गरेको भन्दा १० गुणा बढी थियो।

एक अज्ञात प्रहरी अधिकारीले बीबीसीलाई भने, ‘हामीले प्रदर्शनको एउटा ढाँचा बुझेका छौं। तर यो नयाँ पुस्ताको सामाजिक सञ्जाल र उनीहरू कसरी जम्मा हुन्छन् भन्ने हामीले बुझेनौं।’

बिहान ११:४७ बजे: प्रदर्शनकारीको एक समूहले घेरा तोड्छ। प्रहरीले ब्यारिकेड छाड्छन् र भीड संसद भवनको गेटसम्म पुग्छ।

दिउँसो १२:१५ बजे: प्रदर्शनकारीको एक समूह संसद भवनको पर्खालभित्र पस्छ। प्रहरीले अश्रुग्यास र लाठी चार्ज गर्छ। डिस्कोर्डमा आयोजकहरूले पछि हट्न भने पनि भीड हट्दैन। भिडिओमा श्रीयम संसदको गेटबाहिर देखिन्छन्। हरियो स्कुलको स्विटर लगाएका र झोला बोकेका उनले ‘भ्रष्टाचारविरुद्ध युवा’ लेखिएको ब्यानर बोकेका छन्।

कमान्ड सेन्टरभित्रको अवस्था
करिब ३ किलोमिटर टाढा रहेको कमान्ड सेन्टरमा उच्च सुरक्षा अधिकारीहरू (प्रहरी, सेना, सशस्त्र प्रहरी र गुप्तचर) भेला भएका थिए। जसको नेतृत्व काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवीलाल रिजालले गरिरहेका थिए। त्यहाँ इन्टरनेटको गतिलो सुविधा थिएन र कसैलाई पनि समग्र स्थितिको पूर्ण जानकारी थिएन।

दिउँसो १२:३० बजे: प्रमुख जिल्ला अधिकारीले तत्काल कर्फ्यू लगाउँछन् र माइकिङ गरेर मानिसहरूलाई घर जान भनिन्छ। तर, प्रदर्शनकारीहरूले प्रहरीलाई घेरेर ढुंगामुढा गर्छन्। संसद भवनको गेटमा आगो लगाइन्छ।

कमान्ड सेन्टरमा सहयोग माग्दै रेडियो सन्देश पठाउँदै एक प्रहरी अधिकारीले भने, ‘हामीमध्ये केही नराम्ररी घाइते भएका थियौं। एक जनाले उद्धारको लागि गुहार मागिरहेका थिए।’ लाठी, पानीको फोहोरा र रबरको गोलीले काम नगरेपछि उनीहरूले ‘लाइभ एम्युनिसन’ (गोली) चलाउने अनुमति माग्छन्।

दिउँसो १२:४० बजे: बीबीसीले प्राप्त गरेको लगअनुसार, ‘पिटर १’ (आईजीपी खापुङ)ले आदेश दिन्छन्: ‘कर्फ्यू लागू भइसकेको छ। अनुमति लिइरहनु पर्दैन। आवश्यक बल प्रयोग गर्नु।’

नेपाल प्रहरीले यो आदेश सुरक्षा समितिले दिएको दाबी गरे पनि समितिका तत्कालीन प्रमुख रिजालले जाँचबुझ आयोगसमक्ष आफूले गोली चलाउन अनुमति नदिएको बयान दिएका छन्। एक प्रहरी अधिकारी सम्झिन्छन्, ‘हाम्रा अधिकारीहरूले उनीहरूमाथि दुश्मनलाई जस्तै गोली चलाए।’

दिउँसो १३:१५ बजे: गोली लागेर पहिलो मृत्यु हुन्छ। ३४ वर्षीय विनोद महर्जनलाई टाउकोमा गोली लागेको अवस्थामा बोकेर लगिन्छ।

दिउँसो १४:०९ बजे: सबैभन्दा कान्छा पीडित १७ वर्षीय श्रीयम शान्तिपूर्ण रूपमा अगाडिको लाइनबाट फर्किँदै गरेको भिडिओमा देखिन्छ। स्कुलको झोला बोकेका उनी शान्त देखिन्छन् र ताली बजाइरहेका हुन्छन्। एक्कासी उनको टाउकोको पछाडि गोली लाग्छ र उनी भुइँमा ढल्छन्।

दिउँसो १४:२१ बजे: प्रहरीले संसद भवनको परिसरभित्रबाट प्रदर्शनकारीमाथि गोली चलाएको भिडिओमा देखिन्छ। बीबीसीले प्रहरीले भीडमा सात राउन्ड गोली चलाएको पुष्टि गरेको छ। २४ वर्षीय योगेन्द्र न्यौपानेलाई गोली लाग्छ र उनको मृत्यु हुन्छ।

अन्तिम गोली साँझ ४ बजेतिर चलेको थियो र साँझ परेपछि संसदबाहिरको आन्दोलन मत्थर हुन्छ। तर रातभर छिटपुट प्रदर्शन जारी रहन्छ।

भोलिपल्टको परिणाम
भदौ २४ को हत्याबाट आक्रोशित जनता भोलिपल्ट सडकमा उत्रिन्छन्। आन्दोलन हिंसामा परिणत हुन्छ। प्रहरी चौकीमा आगजनी गरिन्छ र ३ जना प्रहरी अधिकारी मारिन्छन्। सरकारी भवनहरूमा आगजनी हुन्छ र जम्मा ७७ जनाको ज्यान जान्छ।

दिउँसो २:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् र सरकार ढल्छ। राति ९ बजे सेनाले देशको नियन्त्रण लिन्छ।

अहिलेसम्म कसैले पनि यस घटनाको जिम्मेवारी लिएको छैन। खापुङ र रिजालले झैँ तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री ओलीले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेका छन्। नेपाल प्रहरीले आफूहरू एकैपटक धेरै घटनाहरूसँग जुध्नुपरेको बताएको छ।

यसैबीच, पीडित परिवार न्यायको पर्खाइमा छन्। श्रीयमकी आमाले आफू अहिलेसम्म रुन नसकेको बताउँछिन्।

‘मलाई अझै पनि ऊ गएको जस्तो लाग्दैन- मलाई लाग्छ ऊ छिट्टै फर्किनेछ,’ उनी भन्छिन्, ‘मेरो दिमागमा ऊ अझै स्कुलको पोसाकमै छ। ऊ आफ्नो झोला हल्लाउँदै फर्किनेछ।’

फागुन १४, २०८२ बिहीबार ०८:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।