१५ लाखको विवादमा १ करोड ५ लाख माग गर्दै अपहरण: टेकु अस्पतालका एचएसहित चार जना पक्राउ
काठमाडौं : सापटी लिएको १५ लाख रुपैयाँको विषयलाई लिएर एक जडीबुटी व्यवसायीलाई सुर्खेतदेखि काठमाडौँसम्म ल्याई बन्धक बनाएर १ करोड ५ लाख रुपैयाँ फिरौती मागेको घटना सार्वजनिक भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरण काण्डमा संलग्न रहेको आरोपमा टेकु अस्पतालका कर्मचारीसहित चार जनालाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो।
प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा टेकु अस्पतालका एचए फपेन्द्र न्यौपाने (२६ वर्ष), होटल सञ्चालक शिवबहादुर घर्ती (४२ वर्ष), धनराज बस्नेत (३६ वर्ष) र स्याउ र जडीबुटी व्यवसायी देवेन्द्र अधिकारीलाई पक्राउ गरेको हो।
होटलमा यातना र बन्धक
प्रहरीका अनुसार उनीहरूले जुम्लाका जडीबुटी व्यवसायी पूर्णबहादुर बोहरालाई फागुन ८ गते सुर्खेतको बाबियाचौरबाट नियन्त्रणमा लिई फागुन ९ गते जहाजमार्फत काठमाडौं ल्याएर टेकुस्थित शिवबहादुर घर्तीले सञ्चालन गरेको ‘रोड लाइन प्यालेस होटल’ को कोठा नम्बर १०५ मा थुनेर राखिएको थियो।
प्रहरीका अनुसार उनीहरूले बोहरालाई दुई दिनदेखि खाना समेत नदिई कुटपिट र मानसिक यातना दिइएको थियो। प्रहरीले फागुन ११ गते राति ९ बजे होटेलको ढोकामा बाहिरबाट ताला लगाइएको अवस्थामा पीडितको उद्धार गरेको थियो।
१५ लाखबाट सुरु भएको विवाद
प्रहरीका अनुसार यो घटना लेनदेनको विवादबाट सुरु भएको देखिएको छ। देवेन्द्र अधिकारीले पूर्णबहादुर बोहरालाई १५ लाख रुपैयाँ सापटी दिएका थिए, जसमा धनराज बस्नेत साक्षी बसेका थिए।
रकम फिर्ता नभएपछि देवेन्द्रले बोहराका ६ वटा चेकमा ४५ लाख भरेर बाउन्स गराए। पछि साक्षी बसेका धनराजको समेत ६० लाखको चेक लिएर बाउन्स गराइएको थियो। रकम असुल्न देवेन्द्रले धनराजलाई प्रयोग गरी बोहरालाई सुर्खेत बोलाए र त्यहाँबाट काठमाडौं ल्याए। काठमाडौं विमानस्थलमा टेकु अस्पतालका एचए फपेन्द्र न्यौपाने ५-६ वटा मोटरसाइकलसहित कुरेर बसेका थिए।
एचएको भूमिका र फिरौती
प्रहरीका अनुसार, टेकु अस्पतालका एचए फपेन्द्र न्यौपाने पनि जडीबुटी कारोबारमा संलग्न थिए। उनले नै बोहरालाई होटलमा राखेर यातना दिँदै १ करोड ५ लाख रुपैयाँ माग गरेका थिए। मोबाइल दिनुस्, म घरबाट पैसा मगाउँछु भन्दै बोहराले परिवारलाई आफू अपहरणमा परेको सूचना दिएपछि प्रहरीले उनीसम्म पुग्न सफल भएको हो।
होटलमा बन्धक बनाइएको जानकारी भएर पनि प्रहरीलाई खबर नगरेको भन्दै होटल सञ्चालक घर्ती र बोहरालाई काठमाडौं ल्याउन सहयोग गर्ने साक्षी धनराजलाई पनि प्रहरीले प्रतिवादी बनाएको छ। पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल, रुद्राक्ष र चेकहरू बरामद गरिएको छ।
फागुन १३, २०८२ बुधबार २३:१७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।