जेनजी आन्दोलनमा पूर्व गृहसचिवको घरबाट लुटियो १५ तोला सुनसँगै हिराका गहना, सवा करोडको क्षतिपूर्ति दाबी
काठमाडौं : गत भदौ २३ र २४ गते मुलुकभर भएको जेनजी आन्दोलनमा तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीको घरमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एक व्यक्ति विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका-१६ तारकेश्वर महादेवखोला बस्ने ४५ वर्षीय विक्रम दुवाडी भनिने विक्रम क्षेत्री विरुद्ध मंगलबार ‘आपराधिक उपद्रव’ मुद्दा दायर गरेको हो। अभियोगपत्रमा तत्कालीन गृहसचिव दुवाडीको नागार्जुन नगरपालिका वडा नं. २ गैरीगाउँस्थित घरमा करोडौंको क्षति पुर्याएको दाबी गरिएको छ।
भदौ २४ गते दिउँसो करिब २ बजेको समयमा जेनजी समूहले सरकार विरुद्ध गरेको आन्दोलन र विरोध प्रदर्शनले उग्र रूप लिएसँगै करिब २०० देखि ३०० जनाको संख्यामा रहेको प्रदर्शनकारीहरूको उत्तेजित भीड तत्कालीन गृहसचिव दुवाडीको घरमा प्रवेश गरेको अभियोगपत्रमा उल्लेख छ।
भीडले घरको मूल गेट फुटाएर पार्किङमा रहेका सवारी साधनमा आगजनी गर्नुका साथै घरका कोठाहरूमा प्रवेश गरी तोडफोड र लुटपाट मच्चाएको थियो। सो क्रममा घरधनी दुवाडी परिवार मात्र नभई घरको भुइँतलामा भाडामा बस्दै आएका व्यवसायीहरू समेत नराम्ररी पीडित भएका छन्।
‘२८ वर्षे राष्ट्र सेवाको कमाइ छिनभरमै खरानी’
जाहेरीवाला तथा तत्कालीन गृहसचिवकी श्रीमती सरिता दुवाडी दाहालले दिएको जाहेरी दरखास्त र बयानमा आफ्नो श्रीमानले २८ वर्षसम्म राष्ट्र र जनताको सेवामा समर्पित भई नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) सम्म पुग्दा आर्जन गरेको सम्पत्ति र इज्जतमाथि आक्रमण भएको बताएकी छन्।
‘श्रीमान् गृह मन्त्रालयको सचिवको पदमा जिम्मेवारी पूरा गरेको अवस्थामा जेनजी नाममा युवाहरूले घटनालाई आधार बनाई सामाजिक सञ्जालमा अतिरञ्जित अभिव्यक्ति दिँदै राष्ट्रसेवक कर्मचारीको निजी सम्पत्तिमा प्रवेश गरी डकैती, लुटपाट र आगजनी गरे’, सरिता दुवाडीले बयानमा भनेकी छन्।
उनका अनुसार, प्रदर्शनकारीले घरका झ्याल, ढोका, फर्निचर, दराज, र र्याकहरू तोडफोड गरेका छन्। भान्सामा रहेका थाल, कचौरा, इन्डक्सन चुलो, ओभनदेखि लिएर इलेक्ट्रोनिक सामानहरू (टिभी, फ्रिज, वासिङ मेसिन, ल्यापटप, प्रिन्टर) समेत नष्ट गरिएको छ।
आन्दोलनकारीले छोरीहरूले खुत्रुकेमा जम्मा गरेको र कलेजको फिस तिर्न राखेको नगद ५ लाख रुपैयाँ समेत लुटेको दाबी गरिएको छ। साथै, विदेश भ्रमण र अध्ययनका क्रममा जम्मा भएका ३ हजार अमेरिकी डलर, २२ सय अस्ट्रेलियन डलर, ५ सय युरो र ४ हजार स्विस फ्र्याङ्क समेत चोरी भएको उल्लेख छ।
घरमा रहेका १५ तोला सुन, ४० तोला चाँदी, हिराका गहना र तत्कालीन गृहसचिवले प्राप्त गरेका ‘सु प्रबल जनसेवाश्री तृतीय’ श्रेणीको पदक तथा विभूषणहरू समेत लुटपाट भएको अभियोगपत्रमा उल्लेख छ। जाहेरीवालाले आफ्नो तर्फबाट कुल १ करोड २५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरेकी छन्।
भाडामा बस्नेको बिचल्ली
गृहसचिवको घरमा बस्ने सामान्य व्यवसायीहरू पनि यो आक्रमणको चपेटामा परेका छन्।
भुइँतलामा किराना पसल सञ्चालन गर्दै आएकी पुकीमाया गुरुङको पसलमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन्। उनको पसलका सरसामान, फ्रिज, फर्निचर र नगद २५ हजार तथा सुनचाँदी गरी करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, सोही घरमा टेलर्स र कपडा पसल चलाउने जानुका दर्नालको नयाँ कपडाहरू, सिलाई मेसिन र नगद २ लाख रुपैयाँ लुटपाट र आगजनीबाट नष्ट भएको छ।
‘म भीडमा मिसिएँ अनि क्यामरा फुटाएँ’
पक्राउ परेका प्रतिवादी विक्रम क्षेत्रीले बयानमा आफू योजनाबद्ध रूपमा नभई परिस्थितिवश घटनामा संलग्न हुन पुगेको जिकिर गरेका छन्। पेसाले स्वयम्भूमा कपडा व्यापार गर्ने उनले भदौ २४ गते पसल खोल्न जाँदा आन्दोलनका कारण पसल खोल्न नपाएपछि रमिते बनेर बसेको बताएका छन्।
उनले बयानमा भनेका छन्, ‘नेताहरूकै कारण भदौ २३ गते विद्यार्थी मारिएका छन्, अब नेताको घरमा गएर चेताउनुपर्छ भनेपछि म पनि त्यो भीडमा मिसिएर नारा लगाउँदै गएँ। हामी दिउँसो करिब २ बजे तत्कालीन गृह सचिवको घरमा पुगेका थियौं। मलाई त्यो घर कसको हो भन्ने सुरुमा थाहा थिएन।’
क्षेत्रीले भीडको उक्साहटमा आफूले गल्ती गरेको स्वीकार गरेका छन्।
‘भीडमा रहेका २-३ जनाले सीसीटीभी क्यामरा देखाउँदै त्यो निकाल्नुपर्छ भनेर होहल्ला गरे। उनीहरूले मलाई उचालिदिएपछि म पर्खालको रेलिङमा चढेर सीसीटीभी क्यामरा चुँडाली क्षति बनाएको हुँ’, उनले भनेका छन्।
तर, उनले आफू घरभित्र नछिरेको र आगजनी वा लुटपाटमा संलग्न नरहेको दाबी गरेका छन्। उनले सीसीटीभी क्यामरा फुटाउनु आफ्नो गल्ती भएको तर अरूको उक्साहटमा त्यस्तो हुन गएको बताएका छन्।
प्रत्यक्षदर्शी र प्रमाणहरू
घटनास्थलमा रहेका प्रत्यक्षदर्शी तथा जाहेरीवालाका आफन्त आविष्कार अर्यालले दिएको बयान अनुसार, ५०-६० जनाको समूहले सुरुमा ढुङ्गा प्रहार गरी गेट फुटाएको थियो।
त्यसपछि पार्किङमा रहेका दुईवटा मोटरसाइकल (बा २ ब ३४३३ र बा १ ब ८९८५) र एउटा स्कुटर (बा ४८ प २२७) मा आगो लगाइएको थियो। केही मानिसहरू सटर फोडेर भित्र पसे भने केही माथिल्लो तलामा गई सामानहरू सडकमा फाल्ने र आगो लगाउने कार्यमा संलग्न थिए।
छिमेकी गणेश तामाङ र अर्का डेरावाल डम्बर बहादुर गुरुङले पनि करिब २०० जनाको समूहले ‘आपराधिक मनसाय’का साथ आक्रमण गरेको बयान दिएका छन्। उनीहरूले भीडले घरको भौतिक संरचना ध्वस्त पार्नुका साथै लत्ताकपडा, फर्निचर र सवारी साधनमा क्षति पुर्याएको देखेको बताएका छन्।
प्रहरीले घटनास्थलको सीसीटीभी फुटेजको आधारमा प्रतिवादी विक्रम क्षेत्रीको पहिचान गरेको थियो। भिडियोमा उनी तोडफोडमा सक्रिय देखिएको दाबी प्रहरीको छ।
मागदाबी र कानुनी प्रक्रिया
जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी विक्रम क्षेत्रीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१), (२)(क) र (३)(घ) बमोजिमको कसुर गरेको अभियोग लगाएको छ।
दफा २८५ ले ‘आपराधिक उपद्रव’ गर्न नहुने व्यवस्था गरेको छ। उपदफा (३)(घ) अनुसार कसैको घर वा सम्पत्तिमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी उपद्रव गरेमा २ वर्षदेखि ५ वर्षसम्म कैद र २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
अभियोगपत्रमा प्रतिवादी विक्रम क्षेत्रीलाई हदैसम्मको सजायका साथै जाहेरीवाला सरिता दुवाडीको १ करोड २५ लाख र पीडित पुकीमाया गुरुङको १० लाख रुपैयाँ गरी कुल १ करोड ३५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति भराउन माग गरिएको छ।
साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ।
फागुन १३, २०८२ बुधबार १२:०९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।