रास्वपाको आन्तरिक मूल्यांकन- कोशीका नौ सिट अझै ‘रेड जोन’मा

रास्वपाको आन्तरिक मूल्यांकन- कोशीका नौ सिट अझै ‘रेड जोन’मा

विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशमा आफ्नो संगठन विस्तार र जनमत बलियो भएको दाबी गरेको छ।

मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय सभामा देखिएको जनसहभागिताबाट उत्साहित रास्वपाले प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिटमा जित्ने आन्तरिक प्रक्षेपण गरेको छ।

पार्टीको यो दाबीलाई आधार मान्दा कोशी प्रदेशका बाँकी ९ वटा निर्वाचन क्षेत्र भने रास्वपाका लागि अझै पनि चुनौतीपूर्ण अर्थात् ‘रेड जोन’ मा रहेको देखिन्छ।

इटहरीमा सम्पन्न ‘परिवर्तन उद्घोष सभा’पछि रास्वपा कोशी प्रदेशका महामन्त्री तथा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लालविक्रम थापाले पार्टीको आन्तरिक मूल्यांकन सार्वजनिक गरेका हुन्।

उनले भने, ‘जनताको उत्साहले हामीलाई थप जिम्मेवार बनाएको छ। हाम्रो आन्तरिक मूल्यांकनअनुसार हामी कोशीका २८ निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ क्षेत्रमा जित्ने अवस्थामा छौँ।’

यद्यपि उनले कुन-कुन तह रेड जोनमा छन् भन्नेबारे भने खुलासा गरेनन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशबाट ‘निल’ भएको रास्वपाले यसपटक भने सङ्गठन विस्तार र जनसम्पर्क अभियानका कारण नतिजा उल्ट्याउने रणनीति लिएको छ।

तर, पार्टी नेतृत्वले १९ सिट सुरक्षित देखिरहँदा बाँकी ९ सिटमा भने कडा प्रतिस्पर्धा वा कमजोर स्थितिको आँकलन गरेको छ।

‘पुराना काण्डको फाइल खोल्छौं’
सभालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले २०४६ सालयताका सबै ठूला भ्रष्टाचार काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता जनाए।

उनले सहकारी पीडितहरूको बचत फिर्ता र सुशासनलाई पार्टीको मुख्य एजेन्डा बनाएको बताए। ‘राजनीतिमा जबाफदेहिता र पारदर्शिता कायम नगरी देश अघि बढ्न सक्दैन,’ लामिछानेले भने।

त्यस्तै, वरिष्ठ नेता बालेन्द्र शाहले परम्परागत राजनीतिक दलप्रति जनताको वितृष्णा बढेको भन्दै देश रुपान्तरणका लागि रास्वपा सक्षम रहेको दाबी गरे। उनले अबको राजनीतिमा युवापुस्ताको आशा र अपेक्षा सम्बोधन हुनुपर्नेमा जोड दिए।

खेमराज सापकोटा/नेपाल न्युज बैंक

फागुन १३, २०८२ बुधबार ११:०४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।