धादिङमा सत्यनारायण पूजा चलिरहँदा चट्याङ पर्दा गोरखाकी एक बालिकाको मृत्यु, दुई जना घाइते
धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ खुर्सानीटारमा पूजा चलिरहेका बेला चट्याङ पर्दा एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा गोरखाको सहिद लखन गाउँपालिका-८ बस्ने कृष्ण घर्ती मगरकी छोरी अन्दाजी १३/१४ वर्षीया विनिसा घर्ती मगर रहेकी छन्।
प्रहरीका अनुसार फागुन १२ गते दिउँसो अन्दाजी ४ बजेको समयमा खुर्सानीटार बस्ने सम्झना थापा मगरको घरमा सत्यनारायणको पूजा भइरहेको थियो।
सोही क्रममा घर नजिकै अचानक चट्याङ पर्दा पूजामा पाहुना आएका व्यक्तिहरूलाई लागेको थियो।
चट्याङ लागेर गम्भीर घाइते भएकी विनिसालाई उपचारका लागि तत्काल आरुघाट स्वास्थ्य केन्द्र, गोरखा लगिएको थियो। तर, उपचारकै क्रममा साँझ सवा ५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
सोही घटनामा परी विनिसाकी १५ वर्षीया दिदी दिक्षा घर्ती मगर र गोरखाकै भीमसेन थापा गाउँपालिका-६ बस्ने २४ वर्षीय वीरेन्द्र थापा मगर घाइते भएका छन्।
उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको र हाल आरुघाट स्वास्थ्य केन्द्रमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ।
शवको मुचुल्का लगायतका थप कानुनी प्रक्रिया इलाका प्रहरी कार्यालय आरुघाट, गोरखाबाट अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।
फागुन १३, २०८२ बुधबार ०९:४९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।