विदेशमा उपचार गराउन साम्बाले सहयोग मागेपछि चिकित्सक संघले भन्यो- 'स्वदेशमै उपचार हुन्छ, बाहिर जानु पर्दैन'
काठमाडौं : नेपाल चिकित्सक संघले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा'को गम्भीर चोटको सफल उपचार र शल्यक्रिया गर्न नेपालका स्वास्थ्य संस्थाहरू सक्षम रहेको प्रष्ट पारेको छ।
साम्बाले आफ्नो उपचारका लागि सामाजिक सञ्जालमार्फत ठूलो सहयोगको अपिल गरेपछि संघले नेपाली स्वास्थ्य संस्थामा उनको उपचार सम्भव रहेको भनेको हो।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा नेपालका विभिन्न अस्पतालहरूमा जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने विश्वस्तरीय प्रविधि, उपकरण र विशेषज्ञ चिकित्सकहरू पर्याप्त मात्रामा उपलब्ध रहेको उल्लेख गरिएको छ। सेलिब्रेटी लगायतले स्वदेशमै उपचार गराउँदा एकातिर देशको ठुलो धनराशि विदेशिनबाट जोगिने र अर्कोतर्फ नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च हुने उनको भनाई छ।
"नेपालमा रहेका विभिन्न अस्पतालहरूमा उक्त शल्यक्रिया लगायत अन्य आवश्यक उपचार गर्नका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध रहेकोले सेलिब्रेटी लगायत हरेक नेपालीको उपचार नेपालमै गराई नेपालको धन विदेशिनबाट जोगाउनुका साथै नेपाली चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई हौसला प्रदान गर्न नेपाल चिकित्सक संघ आग्रह गर्दछ," विज्ञप्तिमा भनिएको छ।
संघले राष्ट्रको गौरवको रूपमा रहेकी साम्बाको उपचार स्वदेशमै गर्ने वातावरण मिलाउन सम्बन्धित सबै पक्ष र सरोकारवाला निकायसँग आग्रह गरेको छ। साम्बाको उपचारका लागि आवश्यक पर्ने प्राविधिक परामर्श, विशेषज्ञको समन्वय र अन्य सहजीकरण गर्न संघले प्रतिबद्धता व्यक्त गरेको छ।
घुँडाको शल्यक्रिया र उपचारका लागि आर्थिक रहेको भन्दै सोमबार कप्तान साम्बाले सामाजिक सञ्जालमार्फत सहयोग गर्न अपिल गरेकी थिइन्। उनले उपचारमा ८० हजार अमेरिकी डलर खर्च लाग्ने भनेकी थिइन्। साथै साम्बाले आफ्नो उपचारमा सहयोग नगरेकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)सँग गुनासो गरेकी थिइन्।
फागुन १२, २०८२ मंगलबार १८:२४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।