मेक्सिकोमा लागूऔषध माफिया एल मेन्चो मारिएपछि भएको हिंसामा ६२ जनाको मृत्यु

मेक्सिकोमा लागूऔषध माफिया एल मेन्चो मारिएपछि भएको हिंसामा ६२ जनाको मृत्यु

एजेन्सी : मेक्सिकोका सबैभन्दा खोजिएका र शक्तिशाली लागूऔषध तस्कर समूह 'जालिस्को न्यू जेनेरेशन कार्टेल' का प्रमुख एल मेन्चो सुरक्षा कारबाहीमा मारिएका छन्। उनी मारिएपछि देशका विभिन्न क्षेत्रमा व्यापक हिंसा भड्किएको छ।

एल मेन्चो मारिएपछि भड्किएको हिंसा अझै नियन्त्रणमा आउन सकेको छैन। विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शनमा कम्तीमा ६२ जनाको मृत्यु भइसकेको समाचार संस्था राेयटर्सले जनाएकाे छ। जसमा २५ जना सुरक्षाकर्मी र ३४ जना तस्कर समूहका सदस्य रहेका छन्।

मेक्सिकोको जालिस्को राज्यको एक पहाडी सहरमा लुकेर बसेका ५९ वर्षीय मेन्चोलाई आइतबार सेना र राष्ट्रिय गार्डको संयुक्त टोलीले घेरा हालेको थियो। अधिकारीहरूका अनुसार, मेन्चोको प्रेमीकासँग नजिक रहेका विश्वासपात्रबाट पाएकाे सूचनाका आधारमा छापा मारिएको थियो।

मेक्सिकोका रक्षा मन्त्री रिकार्डो ट्रेविलाका अनुसार, उक्त छापा मार्ने क्रममा एल मेन्चोका बन्दुकधारीहरूले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए। भिडन्तमा उनी गम्भीर घाइते भएका उनकाे उपचारका लागि मेक्सिको सिटी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियाे। 

आफ्ना प्रमुख मारिएको विरोधमा कार्टेलका समर्थकहरूले मेक्सिकोका १४ भन्दा बढी राज्यहरूमा सडक अवरूद्ध गरेका छन्। आक्रोशित समूहले ८५ भन्दा बढी स्थानमा गाडीहरू जलाएका छन् भने व्यापारिक मल र ग्यास स्टेसनहरूमा आगजनी गरेका छन्।

हिंसा फैलिएपछि केही अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू रद्द गरिएका छन्।

एल मेन्चोलाई पक्राउ गराउन अमेरिकी सरकारले १ करोड ५० लाख डलर इनाम घोषणा गरेको थियो। यो गिरोह मेक्सिकोमा लागूऔषध उत्पादन तथा कारोबार, स्थानीय व्यवसायीबाट अवैध असुली र विभिन्न क्षेत्रमा आतङ्क मच्चाउने कार्यका लागि कुख्यात थियो।

फागुन १२, २०८२ मंगलबार १७:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।