अरनिको यातायातद्वारा मन्थली क्षेत्रमा १२ दिनदेखि सेवा अवरुद्ध, चुनावको मुखमा स्थानीयलाई सास्ती
रामेछाप : रामेछापको मन्थली नगरपालिका-६ मा बस दुर्घटना भएपछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं-खुर्कोट हुँदै मन्थली आउने-जाने बस सेवा रोकेपछि रामेछापका सर्वसाधारण समस्यामा परेका छन्।
माघ २७ गते मन्थली नगरपालिका–६ लिलौटीमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो भने दुर्घटनामा ८ जना घाइते भएका थिए। साेही घटनापछि सिर्जित विवादलाई बहाना बनाउँदै कम्पनीले फागुन १ गतेदेखि सेवा रोकेको हो।
दुर्घटनापछि पीडित पक्ष र जिल्ला प्रशासनबिच माघ २८ गते मध्यरातसम्म चलेको वार्तापछि सहमति भएपनि मृतकका आफन्तले विभिन्न स्थानमा बस अवरोध गरेका भन्दै प्रालिले फागुन १ गतेदेखि काठमाडौँ-खुर्कोट-मन्थली सडक खण्डमा बस सेवा बन्द गरेको थियो।
बन्द गरिएको सेवा हालसम्म पनि सञ्चालन नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकाम मन्थली तथा काठमाडौं आउजाउ गर्न समस्या भएको छ।
यातायात बन्द हुँदा मन्थली हुँदै रामेछापको सालु, साँघु टार तथा ओलखढुंगाका लिखु क्षेत्रका विभिन्न स्थानमा जाने, रामेछापकै धोबी, सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गाका खिजिदेम्बासम्म आउजाउ गर्ने सर्वसाधारण प्रभावित भएका छन्।
मन्थली हुँदै चल्ने यातायात सेवा रोकेको भए पनि कम्पनीले चौँरीखोला तथा सित्खा हुँदै रामेछापको दक्षिणी क्षेत्रमा चल्ने यातायात भने निरन्तर सञ्चालन गर्दै आएको छ।
मन्थली हुँदै उमाकुण्ड तथा गोकुलगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा जाने सेवा रोकेको कम्पनीले दोलखाको जिरी हुँदै यो क्षेत्रमा बसहरू पठाउन लागेको छ । तर बिचको भागमा भने यातायात चलाएको छैन।
पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने कम्पनीले सो दायित्वबाट भाग्न अवरोध गरेको भन्दै सेवा नै रोकेको स्थानीयको भनाइ छ। प्रतिनिधि सभा निर्वाचनको मुखमा सेवा अवरुद्ध हुँदा पनि स्थानीय प्रशासनले समेत सेवा सञ्चालनको लागि कडाइ नगरेको स्थानीयको गुनासो छ।
यसैबिच बस सेवा तत्काल सञ्चालन हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, गैसस महासंघ, नेपाल उद्योग तथा व्यवसायी महासंघ लगायतका संघसंस्थाले सेवा सञ्चालनको लागि कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । तर कम्पनीले सेवा सुरु गरेको छैन।
पर्याप्त सवारी साधन नहुँदा साना सवारी साधनले उपभोक्तासँग बढी रकम असुल्ने गरेको गुनासो बढेको छ । यातायात साधन पर्याप्त नहुँदा स्थानीय महँगो भाडा तिर्ने बाध्य भएका छन्।
फागुन १२, २०८२ मंगलबार १५:००:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।