भारतमा झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, बिरामीसहित विमानमा सवार सातै जनाको मृत्यु

भारतमा झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, बिरामीसहित विमानमा सवार सातै जनाको मृत्यु

एजेन्सी : भारतको झारखण्डस्थित चतरामा एयर एम्बुलेन्स दुर्घटना भएको छ।

सोमबार राती राँचीको बिरसा मुण्डा विमानस्थलबाट बिरामी लिएर नयाँ दिल्लीका लागि उडेको रेडबर्ड एयरवेजको ‘बीचक्राफ्ट सी ९०’ विमान चतराको सिमरिया नजिकैको घना जंगलमा दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त विमानमा सवार सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विमान सोमबार बेलुकी ७ बजेर ११ बजे मिनेटमा राँचीबाट उडेको थियो। उडान भरेको केही मिनेटमै पाइलटले खराब मौसमका कारण मार्ग परिवर्तनको अनुमति मागेका थिए।

तर, बेलुकी ७ बजेर ३४ मिनेटमा कोलकाता एयर ट्राफिक कन्ट्रोलसँगको रडार र सञ्चार सम्पर्क अचानक विच्छेद भएको थियो।

लामाे समयसम्म सम्पर्क हुन नसकेपछि विमानकाे खोजी गर्दा राति १० बजेर २० मिनेटतिर जंगलमा विमानको भग्नावशेष फेला परेको थियो।

हिन्दुस्तान टाइम्सका अनुसार आगलागीको घटनामा ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका ४१ वर्षीय सञ्जय कुमारलाई थप उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगिँदै थियो।

विमानमा सवार सञ्जय कुमारसँगै उनका सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र र उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार र दुई क्याप्टेनहरू विवेक विकास भगत र सवराजदीप सिंह गरी सातै जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

राँची विमानस्थलका निर्देशक विनोद कुमारका अनुसार खराब मौसम र चट्याङ दुर्घटनाको प्रारम्भिक कारण हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, भारतको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको प्राविधिक छानबिन सुरू गरिसकेको जनाएकाे छ।

रेडबर्ड एयरवेज सन् २०१८ मा उद्यमी अक्षय कुमारले स्थापना गरेको कम्पनी हो।

फागुन १२, २०८२ मंगलबार ११:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।