‘आ बाट आमा’को ग्रस कलेक्सन ११ करोड नाघ्दा अरूको कति ?
काठमाडौं : चलचित्र विकास बोर्डले हरेक साता सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टमा फिल्म ‘आ बाट आमा’को कमाई सबैभन्दा बढी देखिएको छ। यो फिल्मले चार लाख २३ हजार १ सय ११ वटा टिकट बेच्दै ११ करोडभन्दा माथिको व्यापार गरेको छ। गत शनिबार राति १२ बजेसम्म फिल्मको ग्रस कलेक्सन ११ करोड २४ लाख रुपैयाँ छ।
‘आ बाट आमा’ले ११ करोडको व्यापार गर्दा माघ २३ गतेबाट हलमा लागेको फिल्म ‘कुमारी’ले ६३ लाख रुपैयाँ बक्स ग्रस कलेक्सन गर्यो। जसको १९ हजार ३७९ वटा टिकट बिक्री भएका छन्।
माघ २३ गते नै प्रदर्शनमा आएको फिल्म ‘रमिताको पिरती’ले ७ हजार ८०३ टिकट बेचेर साढे २५ लाख रुपैयाँ कमाई गर्यो। माघभन्दा फागुनमा प्रदर्शनमा आएका तीन फिल्मको अवस्था निकै नाजुक देखियो। फागुन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’ले करिब ९ लाख रुपैयाँ मात्र ग्रस कलेक्सन गर्न सक्यो।
सोही दिनबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘श्री बुकुरो’को बिक्री भएका ८०५ टिकटबाट पौने ३ लाखा रुपैयाँ ग्रस कलेक्सन गरेको देखिन्छ। फागुनको सबैभन्दा कमजोर कमाई ‘शिवाशं’को छ। उसले ७८७ टिकट बिक्रीबाट साढे २ लाख रुपैयाँको उठाएको छ।
कुन कलाकार र निर्देशकको फिल्मको कमाई
फिल्ममा द्वन्द्व निर्देशकको छवि बनाएका चन्द्र पन्त निर्देशित दोस्रो फिल्म ‘आ बाट आमा’ले १२ करोड नजिक कमाई गर्यो। उनी निर्देशित पहिलो फिल्मले ६ करोड हाराहारी कमाई गरेको थियो। तर दोस्रो फिल्मले भने उनलाई निकै उचाइमा पुर्याएको छ। शनिबार रातीसम्मको ग्रस कलेक्सन अनुसार उनको यो फिल्म वर्षकै सर्वाधिक कमाई गर्ने फिल्मको सूचिमा समेटिएको छ।
फिल्ममा निर्देशक पन्तले भारतीय अभिनेता प्रदीप रावतलाई बुबाको भूमिकामा अभिनय गराएका थिए। साथै आमाको भूमिकामा पुरानी अभिनेत्री बिपना थापा रहेकी छन्। राधा र कृष्णका भूमिकामा उषा उप्रेती र पल शाह रहेका छन्। समिक्षात्मकरुपमा कमजोर मानिएको फिल्म कमाइको हिसाबले निकै राम्रो देखियो।
सर्वाधिक प्रचारप्रसार गरिएको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’को कमाई हरि बिजोग छ। समीक्षात्मक हिसाबले राम्रो मानिएको फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन। फिल्मको दुई हप्ताका कमाई ६४ लाखसम्म पुर्याउन सकेन। फिल्म कार्यक्रम तथा बढी गीतको प्रचारमुखी हुँदा फिल्मभन्दा दर्शकको चासो गीतमा बढेको देखिन्छ।
दिनेश राउतले नवअनुहार अबिषेक खड्का र आकृति राजभण्डारीलाई राखेर फिल्म निर्माण गरे। फिल्मको गीत चल्यो भने फिल्म चल्छ भन्ने आम फिल्मकर्मीको बुझाई यही फिल्मले फ्लप खुवाएको देखिन्छ। किनभने पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत ‘डोको बुन्ने’ यसै फिल्ममा समावेश गीत हो।
यता माघ २३ गतेबाट प्रदर्शनमा आएको आना शर्मा अभिनीत फिल्म‘रमिताको पिरती’ले साढे २५ लाख रुपैयाँ कमाई गरेको छ। फिल्ममा आना शर्माका अलवा धिरज मगर र गायकबाट नायक बनेको समिर श्रेष्ठ रहेका छन्। यसै फिल्ममा लगानी गरेकी आना शर्माले दर्शकको साथ पाउन सकिनन्। समीक्षात्मक हिसाबले राम्रो मानिएको फिल्मलाई सुदिप्ता अधिकारीले निर्देशन गरेकी हुन्।
रमेश कोइरालाको निर्देशनमा निर्माण भएको फिल्म ‘बिगुल’को कमाई हरिबिजोग देखिन्छ। हलमा लागेको पाँच दिनपछि चुनावी माहोलले दर्शक नआएको भन्दै हलबाट उतारिएको थियो। फिल्म हलमा लाग्दासम्मको बक्स अफिस रिपोर्ट २६ सय ९ वटा टिकट बिक्री भएका थिए। जसबाट ८ लाख ९७ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।
जेनजी आन्दोलनको घटनासँग जोडेर कथा निर्माण गरिएको फिल्ममा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ। फिल्म अब कहिले रिलिज गर्ने हो त्यो भने राजनीतिक परिवेश हेरेर घोषणा गर्ने निर्माण पक्षको भनाई छ।
यता फिल्म ‘श्री बुकुरो : द होम कलिङ’लाई सुदीप भूपाल सिंह निर्देशन गरेका छन्। ‘माला’ र ‘रुद्रप्रिया’ जस्तो फिल्म निर्देशन गरिसकेका अनुभवी निर्देशकले फिल्ममा लक्ष्मी गिरीलाई हिरो बनाएका छन्। लक्ष्मी गिरीका साथमा आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी लगायतको अभिनय रहेको छ। समीक्षात्मक हिसाबले राम्रै मानिए पनि हलसम्म दर्शक नआएपछि उतारियो।
धार्मिक कथा मिसाइएको फिल्म ‘शिवांश’को कमाई त हरिबिजोग नै छ। अरू फिल्मले ७-८ लाख कमाई गर्दा फिल्मले २ लाख ६१ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्म हेरेका अधिकांशले कथावस्तु तथा निर्देशकीय शैली मन पराएका थिए। तर दर्शकले मन नपराएपछि यो फिल्म पनि पाँच दिन हलमा प्रदर्शन नहुँदै विज्ञप्ति निकालेर प्रदर्शन स्थगित गरियो।
सन्तोषकुमार आत्रेयले निर्देशन गरेको यस फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतले अभिनय गरेका छन्। राम्रो कलाकारका साथ हलमा आएको फिल्मका लगानी कर्ता अञ्जान केसी, सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्।
फागुन ११, २०८२ सोमबार १५:५९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।