उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर

काठमाडौं : सोमबार दिउँसो उदयपुरगढी–७ अँधेरीको जोगी टोलमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ।

कटारीबाट गाईघाट जाँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस सोमबार अपरान्ह १२ बजेतिर उदयपुरगढी-७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर दुर्घटना भएको हो। बस सडकबाट करिब ४० फिट तल खसेको छ।

घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा उदयपुरका ७३ वर्षीय सोममाया मगर, ३५ वर्षीय अनिता चौधरी, ४० वर्षीय प्रकाश भुजेल र २२ वर्षीया मणिका मगर रहेका छन्।

यस्तै, उदयपुरकै २१ वर्षीय रेशिका बस्नेत, २० वर्षीय रेश्मा बस्नेत, १९ वर्षीय पवित्रा श्रेष्ठ, १७ वर्षीया तिलक बस्नेत र १० वर्षीया दिपेश तामाङ रहेका छन्।

यसैगरी, उदयपुरका  ७८ वर्षीय दलबहादुर तामाङ, ६० वर्षीय सोममाया परियार, २७ वर्षीय नितेश बुढाथोकी, १५ वर्षीय प्रेम तामाङ, २८ वर्षीय सुवास नेपाली र १५ वर्षीय सुजन तामाङ समान्य घाइते भएका छन्।

प्रहरीले बस चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको जनाइएको छ।

फागुन ११, २०८२ सोमबार १५:०५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।