सन्चालनमा आएको १३ बर्षपछि गमगढी-ताल्चा सडक खण्ड कालोपत्रे गर्न १६ करोड बजेट छुट्ट्याइयो
मुगु : राष्ट्रिय सडक सञ्जालमा जोडिएको १३ वर्षपछि गमगढी-ताल्चा सडक खण्ड कालोपत्रे हुने भएको छ। कर्णाली प्रदेश सरकारले यस सडक आयोजनाका लागि १६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि स्रोत सहमति प्रदान गरेपछि यो सडक कालोपत्रे गर्ने बाटो खुलेको हो। मन्त्रालयको फागुन ५ गतेको निर्णयअनुसार 'बहुवर्षीय ठेक्का सहमति निर्देशिका २०७९' बमोजिम प्रक्रिया अगाडि बढाइएको छ।
ताल्चा गमगमढीसम्मको नौं किलोमिटर सडक कालोपत्रे गर्नको लागि अनुमानित लागत करिब १५ करोड ९९ लाख ३८ हजार रुपैंयाँ रहेको छ।
सांसद मल्लका अनुसार ताल्चा-गमगढीसँगै लिखवाङ जिपसिंङ्ग झोलुङ्गे पुल रुकुम ,कमरेखोला झोलुङ्गे पुलडोल्पा, पानिगैरी झोलुङ्गे पुल निमार्ण रुकुम पश्चिम, धारीखोला मोटरेवल पुल निमार्ण रुकुम पश्चिमका आयोजनाहरुको पनि बजेट स्रोत सुनिश्चित भएको छ।
मुगु जिल्ला राष्ट्रिय सडक सन्जाल जोडिएको १३ बर्ष वितिसक्दा पनि धुँवाधुलो र हिलोले यात्रुले हैरानी व्यहोर्दै आइरहेका छन्। अब सडक कालोपत्रे हुने भएपनि गुणस्तर र मापदण्ड अनुसार हुनुपर्ने उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए।
फागुन ११, २०८२ सोमबार १२:४०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।