पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा १८ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा १८ जनाको मृत्यु

धादिङ : पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसेगौडा भन्ने स्थानबाट गएराति बस त्रिशूली नदी किनारमा खसेको हो।

धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले दुर्घटनामा १८ जनाको ज्यान गएको पुष्टि गरेका छन्।

माछापुच्छ्रे ट्राभल्सको ग १ ख १४२१ नम्बरको बस राति करिब १ देखि १:३० बजेको समयमा सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदीमा खसेर क्षतविक्षत भएको थियो।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन्। बसमा करिब ४५ देखि ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।

पोखराबाट ४३ जना यात्रु लिएर हिँडेको उक्त बसमा मुग्लिनबाट थप २/३ जना यात्रु चढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा पर्नेमा एक जना न्युजिल्याण्डका नागरिकसमेत रहेको बताइएको छ।

कठिन उद्धार कार्य
रातिको समय, अप्ठेरो भिर र उद्धार सामग्रीको अभावका कारण उद्धार कार्यमा निकै कठिनाइ भएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए।

‘टर्च बाल्दै घाइतेहरूको उद्धार गर्यौं’, प्रजिअ सुवेदीले भने।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली रातभर उद्धारमा खटिएका थिए।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो।

उद्धारकर्मीहरूले डुंगाको सहायताले नदी किनारबाट घाइतेहरूलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकाली एम्बुलेन्समार्फत अस्पताल पठाएका थिए।

घाइतेहरूमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

बस काउन्टरको चलानी र प्रहरीको मुचुल्काका आधारमा यात्रुहरूको नामावली संकलन गर्ने कार्य भइरहेको छ। मृतक र घाइते अधिकांशको विस्तृत पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

फागुन ११, २०८२ सोमबार ०७:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।