रुस विरोधी इयूको प्रतिबन्ध रोक्ने हङ्गेरीको चेतावनी

रुस विरोधी इयूको प्रतिबन्ध रोक्ने हङ्गेरीको चेतावनी

एजेन्सी : युक्रेन भएर आउने पेट्रोलियम पाइपलाइन सञ्चालन नभएसम्म हङ्गेरीले युरोपेली सङ्घ (इयू)को रुस विरोधी नयाँ प्रतिबन्धको प्याकेज रोक्ने चेतावनी दिएको छ। 

हङ्गेरीले आइतबार पेट्रोलियम पदार्थको सुनिश्चितता खोज्दै रुसविरुद्धको २०औँ चरणको प्रतिबन्धको प्याकेज रोक्ने चेतावनी दिएको हो। 

“जबसम्म युक्रेनले हङ्गेरी आपूर्ति गर्ने पेट्रोलियम पदार्थको प्रमुख पाइपलाइन पुनः खोल्दैन, इयूको प्रतिबन्धको पछिल्लो प्याकेज रोक्नेछ,” हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले एक्समा लेखेका छन्, “प्रतिबन्धहरूको लागि हङ्गेरीको कुनै समर्थन छैन; रूसविरूद्ध इयूले लगाउने घोषणा गरेको २० औँ प्रतिबन्ध प्याकेज अस्वीकार गरिनेछ।”

“जबसम्म युक्रेनले ड्रुज्बा पाइपलाइन मार्फत हङ्गेरी र स्लोभाकियामा तेल ट्रान्जिट पुनः सुरु गर्दैन, हामी किएभका लागि महत्त्वपूर्ण निर्णयहरू अगाडि बढ्न दिनेछैनौं,” विदेश मन्त्री पिटर सिजार्टोले एक्समा पोस्ट गरेको एक सन्देशमा भनिएको छ।  

स्लोभाकिया र हङ्गेरीमा रुसी तेल पुर्याउन आफ्नो क्षेत्र पार गर्ने ड्रुज्बा पाइपलाइन जनवरी २७ मा भएको रुसी आक्रमणबाट क्षतिग्रस्त भएको युक्रेनले बताएको छ। फेब्रुअरीको सुरुमा इयूले रुसको विरुद्ध नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेको थियो। 

बैंकिङ र ऊर्जा क्षेत्रहरूलाई लक्षित गर्दै सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछिको यो इयूको २० औँ प्याकेज हो। युरोपेली आयोगले उसको व्यापार प्रतिरक्षा उपकरणलाई पनि सक्रिय गर्न चाहन्छ। 

यी उत्पादनहरू रुसमा पुनः निर्यात हुने उच्च जोखिम रहेको जनाउँदै इयूले पहिलो पटक सबै मेशिन उपकरण र रेडियो उपकरणको निर्यातमा प्रतिबन्ध लगाउन चाहेको छ। नयाँ प्रतिबन्धहरू लागू हुनु अघि इयूका सबै २७ सदस्य राष्ट्रहरूले आफ्नो स्वीकृति दिनुपर्छ।

फागुन १०, २०८२ आइतबार २२:१९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।