फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक

फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक

काठमाडौं : चैत २७ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले ‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गरेर फिल्मको प्रचारप्रसार सुरु गरेको हो। 

सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ। डा. डीआर उपाध्यायको शब्द रचना रहेको गीतमा बाबुल गिरीले नै संगीत भरेका छन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार बिराज भट्ट र सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा दुई कलाकारको प्रेमभाव देखाइएको छ। माइकल चन्दको कथा, पटकथा तथा निर्देशनमा तयार भएको फिल्ममा बिराज र सुपुष्पाका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा लगायतको अभिनय छ। 

फिल्ममा एक्सन, सस्पेन्स र प्रेमकथाको सम्मिश्रण रहेको भनिएको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्मित फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ।

फागुन १०, २०८२ आइतबार १८:२३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।