राहत सुनिश्चित गर्न जेनजी घाइतेको सूचीकरण तीव्र, फागुन १५ भित्र विवरण उपलब्ध गराउन मन्त्रालयको ताकेता
काठमाडौं : जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार र राहत प्रक्रियालाई व्यवस्थित बनाउन सरकारले देशभरका स्वास्थ्य संस्थाहरूलाई फागुन १५ गतेभित्र घाइतेको विवरण बुझाउन निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै अस्पतालहरूलाई छुटेका घाइतेहरूको तथ्याङ्क तत्काल उपलब्ध गराउन भनेको हो।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको सूचीकरण र वर्गीकरण पुनःवर्गीकरणसम्बन्धी कार्य समयमा सक्नका लागि यही फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको हो। उनले फागुन १५ गतेभित्र आएका निवेदन उपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिए।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ। उनले जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बताए।
सरकारले जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक नौ हजार, गम्भीर घाइतेलाई मासिक नौ हजार र मध्यम घाइतेलाई मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए। उनका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
फागुन १०, २०८२ आइतबार १५:४८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।