कलाकारलाई चुनावी ज्वरो : कोही भोट माग्दै घरदैलोमा, कोही सुटिङ सक्ने चटारोमा
काठमाडौं : देश प्रतिनिधिसभा निर्वाचनको सँघारमा रहँदा नेपाली चलचित्र उद्योग प्रभावित बनेको छ। चुनावको रापतापले फिल्म क्षेत्रको निर्माणदेखि प्रदर्शनसम्मको सन्तुलनलाई प्रभावित बनाएको हो। दर्शक हलसम्म नआएपछि बक्स अफिसमा ठूलो धक्का पुगेको छ।
हालै प्रदर्शनमा आएका तीन फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’को प्रदर्शन रोकिएको छ। हलमा दर्शकको चाप नदेखेपछि तीन वटै फिल्मको निर्माण पक्षले विज्ञप्ति निकालेर प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरे।
यता केही फिल्मकर्मी सुटिङ सेड्युल पछाडि धकेलेर राजनीतिक दलका नेता-कार्यकर्तासँगै चुनावी प्रचारप्रसारमा खटिएका छन्। यसरी राजनीतिक मैदानमा होमिएका अनुहारमध्ये अभिनेत्री नीशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नं ५ को उम्मेदवार बनेकी छन्।
मतदान आउन दुई साता मात्र बाँकी रहँदा उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका रिमा विश्वकर्मा, प्रकाश सपुत, लक्ष्मी बर्देवा लगायतका कलाकार आफ्नो पक्षमा मत माग्दै घरदैलोमा व्यस्त छन्। तर, अधिकांश कलाकारलाई भने चलचित्र छायांकनकै चटारो छ। उनीहरू चुनावकै बीचमा पनि आफ्नो चलचित्रको छायांकन सक्ने तयारीमा छन्।
छायांकन भइरहेका चलचित्र
पारी बुटोल : गणेशदेव पाण्डेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पारी बुटोल’ विगत चार सातादेखि छायांकनमा छ। फिल्ममा किरण श्रेष्ठ, दीया मास्के, अनुप बराल, सुशील सिटौला र पुस्कर कार्कीले अभिनय गरिरहेका छन्। बुटवलको ट्राफिक चोक आसपासमा चलचित्रको छायांकन भइरहेको अभिनेता श्रेष्ठले जानकारी दिए।
कमला मिस : एक दशकपछि निर्देशनमा फर्किएका नीर शाहले ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलबाट ‘कमला मिस’को छायांकन थालेका छन्। साहित्यकार विजय मल्लद्वारा लिखित चर्चित नाट्य कृति ‘कोही किन बर्बाद होस्’बाट प्रेरित फिल्मा शाहसहित बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी लगायतको अभिनय छ।
भटभटे : टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्यालले आफ्नै पटकथा तथा निर्देशनमा जनकपुरबाट आइतबारदेखि ‘भटभटे’को सुटिङ सुरु गरेका छन्। रोमान्टिक प्रेम र सामाजिक विषयवस्तु समेटेको फिल्म जनकपुरको सहरी क्षेत्रका साथै बगदा र लोहारपाटीमा समेत छायांकन हुने निर्देशक पौड्यालले बताए। अञ्जना बराइली, सविन कार्की (कार्टुन्ज क्रू), रवीन्द्र झा र प्रमोद अग्रहरीको मुख्य भूमिका रहने फिल्मको कथा साहित्यकार नयनराज पाण्डेले लेखेका हुन्। व्यवसायी सुरेश कार्की र सादिक्षा आचार्य निर्माता रहेको यस फिल्मको बजेट ३ देखि ४ करोड रुपैयाँ पुग्ने अनुमान निर्माण पक्षको छ।
कस्तुरी : निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को छायांकन गत मङ्गलबारदेखि काठमाडौंबाट सुरु भएको छ। ऋत बोहोराको निर्देशन रहेको फिल्ममा निखिल र वर्षाका अलावा शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय रहनेछ। गौरव पहारी र हेना नगरकोटी ‘क्यामियो’ भूमिकामा देखिने छन्। व्यवसायी धीरजकुमार अग्रवालको लगानी रहेको फिल्मको सह-निर्मातामा अञ्जली चौधरी छन्। चलचित्रको छायांकन अवधि ३५ दिन तोकिएको छ।
मितज्यू : माघ पहिलो सातादेखि सुरु भएको अनिल बुढामगर निर्देशित ‘मितज्यू’ को छायांकन दाङ र रोल्पा (सुलीचौर, सातदोबाटो र जेलबाङ)मा भइरहेको छ। जनक घर्तीमगरले निर्माण गरेको यस फिल्ममा दयाहाङ राई, तेरिया मगर, सौगात मल्ल, शिशिर बाङ्देल, सुवर्ण थापा लगायतको अभिनय छ। वसन्त पञ्चमीको अवसर पारेर सुरु गरिएको फिल्मको छायांकन तालिका एक महिनाको छ, जसमा १० दिन दाङ र २० दिन रोल्पाको सुलीचौर, सातदोबाटो र जेलबाङ तय गरिएको छ। यसको प्रदर्शन आगामी जेठ १५ लाई तय गरिएको छ।
छायांकन पछि धकेलिएका चलचित्र
माया भनेको यस्तै होला : फागुन १० गतेदेखि छायांकनमा जाने भनिएको फिल्म ‘माया भनेको यस्तै होला’को तालिका चुनावका कारण प्रभावित भएको छ। रेखा थापाले निर्देशन गर्न लागेको यस फिल्मको सुटिङ चुनावअघि नहुने भएको छ।
उनी भन्छिन्, "चुनाव अघि दुईचार दिन सुट गरेर रोक्नुभन्दा अहिले नै अलिक पछि गरेकै राम्रो जस्तो लाग्यो।" फिल्ममा पूर्व मिस नेपालहरू नीति शाह, नम्रता श्रेष्ठ र सृष्टि श्रेष्ठका साथै दिल श्रेष्ठ, राजाराम पौडेल र लक्ष्मी गिरीको अभिनय रहनेछ।
पारस : फागुनको दोस्रो सातादेखि छायांकन गर्ने भनिएको ‘पारस’को हाल पूर्वतयारी (प्रि-प्रडक्सन) भइरहेको छ। निर्माण टोलीले अब फागुन अन्तिम साताबाट मात्र छायांकनमा जाने तयारी गरेको छ। यसै चलचित्रका लागि अभिनेत्री निरुता सिंह नेपाल आइसकेकी छन्। फिल्मा निखिल उप्रेती, निरुता सिंह, प्रियंका कार्की र जसिता गुरुङ लगायतको अभिनय रहनेछ।
आचार्य : अभिनेता तथा निर्देशक निखिल उप्रेतीको अर्को फिल्म ‘आचार्य’को एउटा गीत बाहेक सम्पूर्ण छायांकन सकिएको छ। फिल्म ‘कस्तुरी’को सुटिङमा निखिलले आचार्यको गीत बाहेक सबै सुटिङ सकिएको जानकारी दिए।
जिरो डिग्री : विजय बराल र सनिशा भट्टराईको मुख्य भूमिका रहने फिल्म ‘जिरो डिग्री’ पनि चुनावी माहोलका कारण तत्काल फ्लोरमा नजाने भएको छ। यसै महिना छायांकन सुरु गर्ने भनिए पनि अब चुनावपछि मात्र काम सुरु हुनेछ।
नयाँ फिल्म हलबाट उत्रिदा पुराना फिल्मको इन्ट्री
नयाँ फिल्म हलबाट बाहिरिएसँगै सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ र अर्को फिल्म ‘मोहर’ पुनः प्रदर्शनमा आएका छन्। ‘पूर्णबहादुरको सारङ्गी’ संखुवासभाको खाँदबारीस्थित हलमा २ शोका साथ पुनः प्रदर्शनमा आयो। टिकट बुकिङ एप ‘खल्ती’का अनुसार हाल यो फिल्म उक्त हलमा मात्र उपलब्ध छ।
"दर्शकको माग बढेपछि हामीले फिल्म रि-रिलिज गरेका हौं," फिल्म वितरक करण श्रेष्ठले भने, "अहिले उपत्यका बाहिरको हलमा लगाएका छौं। दर्शकको माग बढेको खण्डमा काठमाडौंका हलमा पनि लगाउने सोचमा छौं।" खाँदबारीमा फिल्म लागेको एक घण्टामै शो ‘हाउसफुल’ भएको थियो।
घरेलु बक्स अफिसमा ४८ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ नेपालकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। सरोज पौडेलको कथा तथा निर्देशन रहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र प्रकाश सपुत लगायतको अभिनय छ।
यसैगरी, ५ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको ओमप्रतिकको लेखन तथा निर्देशन रहेको फिल्म ‘मोहर’ पनि पुनः प्रदर्शनमा आएको छ। पल शाह, नीति शाह र बेनिशा हमालको अभिनय रहेको फिल्मले पर्साको म्याङ्गो जनज्योति सिनेमा र दाङको भिएफएक्स सिनेमाज घोराहीमा १-१ शो पाएको छ।
फागुन ९, २०८२ शनिबार १९:३०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।