बन्चरेडाँडा ल्यान्डफिल साइटमा अनधिकृत प्रवेशमा रोक
काठमाडौं : काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै साइट परिसरमा अनधिकृतरूपमा प्रवेश नगर्न अनुरोध गरेको हो।
साइट परिसरमा फोहोरमैला तथा कवाडी संकलनकर्ता लगायत व्यक्तिहरू प्रवेश गर्न थालेपछि महानगरले उक्त स्थानमा मानवीय र सवारी दुर्घटनाको जोखिम बढेको जनाएको छ। फोहोर विसर्जन स्थलमा डोजर, एक्साभेटर, लोडर, जेट तथा टिपर जस्ता 'हेभी' सवारी साधनहरू निरन्तर सञ्चालनमा रहने हुनाले अनधिकृत व्यक्तिहरूको उपस्थितिले दुर्घटना जोखिम रहेको भनेको छ।
विभागकी विभागीय प्रमुख सरिता राईले भनेकी छन्, "अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने भएकोले ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।"
शुक्रबारदेखि लागू हुने गरी ल्यान्डफिल साइटमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी र आधिकारिक रूपमा खटिएका प्रतिनिधिबाहेक अन्यलाई प्रवेश नगर्न महानगरले अनुरोध गरेको छ। सूचनाको अवज्ञा गरी कोही प्रवेश गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ।
अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना घटेमा कार्यालय जबाफदेही नहुने र सम्बन्धित व्यक्ति नै कानुन अनुसार सजायको भागिदार हुने ब्यहोरा समेत महानगरले स्पष्ट पारेको छ।
फागुन ८, २०८२ शुक्रबार २१:३६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।