अपहरित बालिकाको सकुशल उद्धार, फिरौती माग्ने एक जना प्रहरीको नियन्त्रणमा

अपहरित बालिकाको सकुशल उद्धार, फिरौती माग्ने एक जना प्रहरीको नियन्त्रणमा

सप्तरी : मङ्गलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ। 

खड्क नगरपालिका-८ बिसनपुरकी सात वर्षीया बालिकाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

अपहरण गरी फिरौती माग्ने खड्क-९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निजलाई रुपनी गाउँपालिका-१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई बालिकालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताए।

मङ्गलबार साँझ घरबाट हराएकी बालिकाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबालाई फोन गरी एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर रुपनी-१ स्थित खाँडो खोलामा बोलाएका थिए।

यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए। 

फागुन ८, २०८२ शुक्रबार २०:५१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।