प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा चुनाव अघि सुनुवाई नहुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा चुनाव अघि सुनुवाई नहुने

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले आगामी फागुन २२ गतेका लागि साधारण तारिख तोकेको छ। अदालतले फागुन २२ मा साधारण तारिख तोकेसँगै निर्वाचनअघि उक्त मुद्दामा सुनुवाइ नहुने भएको हाे।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ। यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा चुनाव अघि सुनुवाई नहुने भएकाे छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो। उक्त रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन। अदालतले उक्त विवादमा साधारण तारिख यही फागुन २२ गतेका लागि तोकेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गत कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेस भइसकेको छ।

त्यसैगरी, सर्वोच्च अदालतको गत पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनःस्थापनाको मागसम्बन्धीका पूरक रिट निवेदनलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो।

फागुन ८, २०८२ शुक्रबार १८:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।